राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित


काठमाण्डु-संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष नेपाल निर्वाचित भएको छ ।

राष्ट्रसङ्घका प्रमुख ६ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका हुन् ।

५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका गरेका छन् । रासस