काठमाण्डु – भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले उडिसामा नेपाली विद्यार्थीमाथि भएको व्यवहारबारे भारत सरकार र मुख्यमन्त्री कार्यालयसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।
उडिसाको केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्युपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘घटना सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।’
दूतावासले प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरूले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न अनुरोध गरेको छ ।
दूतावासले शैक्षिक संस्थाका रजिस्ट्रार लगायत प्रतिनिधिसँग भएको छलफलमा उनीहरूले विद्यार्थीलाई छात्रावासमा बस्ने र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी दिएका विज्ञप्तिमा उल्लेख छ ।
उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा नेपाली छात्रा रुपन्देहीकी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको छ ।
लम्साल इन्जिनीयरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर रेलवे स्टेसनमा पुर्याएर अलपत्र पारेको छ ।
प्रतिक्रिया