अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण नियालिरहेका छौं : नेपाली दूतावास

अमेरिकामा एसियाली नागरिकमाथिको आक्रमण नियालिरहेका छौं : नेपाली दूतावास


काठमाण्डु – अमेरिकास्थित नेपाली दूतावासले एसियाली मूलका नागरिकहरुमाथि भइरहेको आक्रमणबारे ध्यानाकर्षण भएको जनाएको छ ।

वासिङ्टनमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै एटलान्टामा ८ जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड र सानफ्रान्सिस्कोमा नेपाली उबर चालकमाथि भएको आक्रमणबारे ध्यानाकर्षण भएको जनाएको हो ।

‘अमेरिकामा पछिल्ला दिनमा एसियाली मूलका नागरिकमाथि भइरहेको आक्रमणका घटना दूतवासले नियालिरहेको छ’, उनले भनेका छन्, ‘एटलान्टामा ८ जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड र सानफ्रान्सिस्कोमा नेपाली उबर चालकमाथि भएको आक्रमणबारे दूतावासको ध्यानाकर्षण भएको छ ।’

नेपाली दूतावासले अमेरिकामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाबाट पीडितहरुप्रति सहानुभूति प्रकट गरेको छ । साथै जातीय आधारमा हुने आक्रमण रोक्नका लागि अमेरिकी निकाय र नागरिकबाट भएको सहयोगको पनि दूतवासले प्रशंसा गरेको छ ।

दूतावासले नेपालीहरु शान्तिप्रिय, विविधताको सम्मान गर्ने, सहनशील र आपसी समझदारीमा विश्वास गर्ने भएको उल्लेख गर्दै अमेरिकामा रहेका नेपाली नागरिकलाई त्यहाँको कानुन, संस्कृति, मूल्य मान्यता र आदर्शलाई सम्मान गर्न पनि अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि जातीय समूदायप्रति हुने विभेद र हिंसा खेदजन्य छ । हामीलाई विश्वास छ सम्बन्धित अमेरिकी निकायले यी घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउनेछ ।’