काठमाडौं– भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ता बापतको रकमको चेक हस्तान्तरण भएको छ।
शुक्रबार बिहान अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेरुको चेक हस्तान्तरण गरे।
यो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताको प्रतिपूर्तिमा उपयोग हुनेछ । २०७२ फागुन ८ मा नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो।
चेक बुझेपछि आफ्नो मन्तव्य राख्दै अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले भूकम्पपछिको उद्दार र पुनर्निर्माणमा भारतबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गरे।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालका लागि भारतीय राजदूत पुरीले दोस्रो र अन्तिम किस्ता हस्तान्तरणको प्रक्रिया सुरु भइसकेको र दुई महिनाभित्र निश्कर्षमा पुग्ने जानकारी दिए।
नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ७५ अर्ब रुपैयाँ सहुलियत ऋण हो भने २५ अर्ब अनुदान हो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ ।
सेप्टेम्बर २०१६ मा दुवै देशले ७५ अर्ब रुपैयाँ सहुलियत ऋणमध्ये नुवाकोट र गोरखाका लाभग्राहीको तेस्रो किस्ताका लागि ५ अर्ब रुपैयाँ खर्च गर्ने सहमति पनि बनेको छ ।
प्रतिक्रिया