काठमाडौं– भारतसँग थप बन्दरगाह सञ्चालन र मुुलुकमै जलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच नयाँदिल्लीमा वार्ता हुँदैछ।
नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक सोमबार र मंगलबार हुने भएको हो।
सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुनेछ ।
बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सहसचिवका साथै कोलाकाताका लागि नेपालका महावाणिज्यदूत, नयाँदिल्लीस्थित नेपाली दूतावासका सहसचिव रहने प्रतिनिधिमण्डलका नेता सैँजुले जानकारी दिए।
प्रतिक्रिया