काठमाण्डु – करिब दुई हप्ताको फरकमा नेपाल र भारतका सेना प्रमुखहरूले एकअर्काको देशको भ्रमण गरेका छन् ।
मंसिर ५ गते भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । उनी मंसिर ९ गते स्वदेश फर्केका थिए ।
भारतका सेनापति फर्केको १६ औं दिनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल मंसिर २६ गते भारत गएर आइतबार स्वदेश फर्केका छन् ।
सिग्देललाई मंसिर २७ गते भारतका राष्ट्रपति द्रौपदी मुुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन् । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणको क्रममा एउटा ‘टार्गेट प्याक्ट्रिश ड्रोन’ र ‘फील्ड अस्पताल’हरूसँग सम्बन्धित स्वास्थ्य उपकरणहरू उपलब्ध गराउने घोषणा गरेका थिए ।
नेपाल र भारतका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने दशकौं पुरानो परम्परा हो ।
नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई भारतीय सेनाका सर्वोच्च कमान्डर अर्थात भारतका राष्ट्रपतिबाट र भारतीय सेनाको तीन प्रभागमध्ये प्रायः स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले मानार्थ महारथी दर्जा दिने परम्परा छ । भारतीय सेनामा स्थलसेना, जलसेना र वायुसेना गरेर तीन प्रभाग र तीन प्रमुख हुन्छन् ।
विज्ञहरूका अनुसार दुई देशबीचको ‘मानार्थ महारथी’ पदवी निकै महत्वपूर्ण र अर्थपूर्ण छ । यसले नेपाली र भारतीय सेनाबीच सम्बन्धको प्रगाढता पुष्टि गर्छ ।
नेपाली सेनाका प्रवक्ता गौरव केसी एक देशले अर्को देशको सेनापतिलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा पुरानो भएको बताउँछन् । अहिलेसम्म २४ जना भारतीय सेना प्रमुखले नेपालको मानार्थ पदवी ग्रहण गरिसकेका छन् भने १९ जना नेपालका सेना प्रमुखले भारतमा यो पदवी ग्रहण गरेका छन् ।
प्रवक्ता केसीका अनुसार द्विपक्षीय भ्रमणबाट सैनिक संगठनबीच हुने सहयोग, समन्वय, भ्रमण, तालिम, अभ्यास र अन्य गतिविधिले दुवै देशबीचको सम्बन्धलाई फलदायी तुल्याएको छ ।
अग्निपथमा मौनता
‘अग्निपथ’ सैनिक भर्तीसम्बन्धी योजना हो । जसमा ४ वर्ष सैनिक तालिमका लागि युवाले अवसर पाउँछन् । जो जो छानिन्छन् उनीहरू ४ वर्षका लागि सेनामा रहेर तालिम लिन्छन् र सेवा गर्छन् । उनीहरूको अहिलेको स्केलमा मासिक ३० हजार भारु तलब हुन्छ ।
स्वास्थ्य उपचारलगायत विभिन्न सेवा र सुविधा पनि हुन्छ । अग्निपथ योजनामा भर्ती भएकाहरूले सेवावधिमा घाइते भएमा या मृत्यु भएमा बिमा अनुसारको रकम पनि पाउँछन् । ४ वर्षपछि उनीहरू आफ्नो रुचीको क्षेत्रमा जान पाउँछन् ।
अग्निपथ योजनाको असर गोर्खा पल्टनमा पनि असर गर्ने देखिएको हुनाले नेपालमा विरोध भइरहेको छ । अग्निपथ योजनामा नेपाली नागरिक पनि प्रवेश गर्न सक्छन् । यो योजना अनुसार नेपाली नागरिक अग्निवीर बनेपछि निश्चित २५ प्रतिशत गोर्खा पल्टनमा जान सक्छन् । बाँकी अन्य क्षेत्रमा जानुपर्ने हुन्छ । त्यतिञ्जेल उसले झण्डै १५ लाख भारतीय रूपैयाँ कमाइसकेको हुन्छ ।
भारत स्वतन्त्र भएको समयमा सन् १९४७ को नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार भारतीय सेनामा नेपाली नागरिककै हैसियतमा भर्ती हुन पाउने व्यवस्था छ । संयुक्त अधिराज्यको सेनामा पनि नेपालीहरू त्यसरी नै सहभागी हुन पाउँछन् ।
कोभिड महामारीको समययता भारतीय गोर्खा सेनामा नेपालीहरू भर्ती हुने क्रम अवरुद्ध छ । त्यसमाथि सन् २०२२ भारत सरकारले ल्याएको ‘अग्निपथ’ योजनाले आफ्नो सेनाको भर्तीसम्बन्धी नीतिमा ठूलो हेरफेर समेत गरेको छ। जसलाई लिएर काठमाडौंले भारतले एकतर्फी निर्णय लिएको भन्दै योजनाअन्तर्गत गोर्खा भर्ती हुन नसक्ने धारणा राखेको थियो ।
नेपाल र भारतका सेनाप्रमुखले एकअर्काका देशको भ्रमण गरे पनि यस क्रममा ‘अग्निपथ’ योजनाअन्तर्गत भारतीय सेनामा नेपालीहरूको भर्तीबारेको अन्योल कायमै रहेको देखिएको छ ।
भारतको नयाँ नीतिअनुसार हाल भर्ना भएका ‘अग्निवीर’ जवानहरूको कार्यकाल चार वर्षको मात्र रहने छ । तीमध्ये छानिएका २५ प्रतिशत जवानहरूलाई भने चार वर्षपछि पनि सेनामा अगाडि बढ्ने अवसर दिइने छ । बाँकी ७५ प्रतिशतलाई भने ‘सेवानिधि’ भनिएको एकमुष्ट करिब २० लाख रुपैयाँको प्याकेजसहित बिदाइ गरिने छ । भारतीय सेनामा पेन्सन पाक्ने गरी जवानको भर्ती केही समय यता रोकिएको छ ।
भारत आफ्नो सेनाबारे निर्णय गर्न स्वतन्त्र भए पनि इतिहासले उसलाई गोर्खा सैनिक प्रभावित हुनेगरी एक्लै निर्णय गर्ने अख्तियारी नदिएको जानकारहरू बताउँछन् । त्यस्तो निर्णयअघि नेपालसँग समन्वय, सल्लाह र सहकार्य गर्न सकिन्थ्यो वा त्रिपक्षीय सन्धि नै तोड्ने विकल्पमा जान सकिन्थ्यो ।
हाल भारतीय सेनामा सात वटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियनमा करिब ३२ हजार नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत छन् । गोर्खा रेजिमेन्टमा कार्यरत फौजलाई भारतीय सेनाले चीन र पाकिस्तानको सीमासहितका आफ्नो संवेदनशील क्षेत्रमा खटाएको छ ।
नेपालमा एक लाख भन्दा धेरै संख्यामा अवकाशप्राप्त भारतीय गोर्खा सैनिकहरूको बसोबास गरिरहेका छन् ।
प्रवक्ता केसीले अग्निपथको विषय सैनिकभन्दा पनि राष्ट्रिय तहको विषय भएकाले यस्तो विषयको छलफल दुई देशका प्रधानसेनापतिबीच नभएको बताए ।
सन् २०२२ को जुनमा भारत सरकारले उसको सेनामा अधिकृत तहभन्दा तलका सबै भर्तीमा लागु हुने गरी अग्निपथ योजना अनुमोदन गरेको थियो ।
त्यसयता दुवै देशका उच्च अधिकारीहरूले एक अर्काको भ्रमण गरेको भए पनि नेपालले राजनीतिक सहमति नभएसम्म त्यसबारे कुनै निर्णय लिन नसक्ने बताउँदै आएको छ ।
अहिले दुइै देशका प्रधान सेनापतीहरूको भएको भ्रमण बलियो रक्षा र दुईपक्षीय साझेदारी कायम राख्नेबारे छलफल भएका प्रवक्ता केसीले बताए । तर अग्निपथअन्तर्गत गोर्खा भर्तीमा देखिएको गतिरोधबारे छलफल भएको बारेमा जानकारी नभएको उनले बताए । ‘प्रधानसेनापति सिग्देलको भारत भ्रमणमा आपसी हितका विषय र तालिम अनि सहयोगका विषयमा केन्द्रित रही छलफल भएको छ’, उनले भने ।
‘अग्निपथ’ कार्यान्वयनमा आएपछि भारतीय सेनामा चार वर्षको जागिर सकेपछि ठूलो संख्यामा हतियार चलाउन तालिमप्राप्त जनशक्ति बाहिरै बस्नुपर्ने भएकाले त्यसले राष्ट्रिय सुरक्षामा नै चुनौती थप्न सक्ने बताउने गरेको पाइन्छ ।
भारतको गोर्खासहितका रेजिमन्टहरूमा भर्ती हुनेहरूमध्ये ६० प्रतिशत जति नेपालका अनि ४० प्रतिशत जति भारतका नेपालीभाषी गोर्खाली समुदायका हुने गरेकोमा ‘अग्निपथ’अन्तर्गत भर्ना रोकिएपछि भारतकै नेपाली भाषीसहितका समुदायबाट भर्ना लिइएको छ । भारतीय सेनामा करिब ३२,००० गोर्खा सैनिक रहेको अनुमान छ ।
नेपाली सेनाका प्रवक्ताले पुसको दोस्रो साता दुई देशका सेना सहभागी हुने ‘सूर्यकिरण’ सैन्य अभ्यास नेपालमा हुन लागेको जानकारी दिए। बुटवलको सालझन्डीमा हुने अभ्यासमा भारतीय सेनाको बटालियन तह सहभागी हुने गरेको छ ।
सन् २०११ मा सुरु भएको संयुक्त अभ्यास दुवै देशमा आलोपालो हुँदै आइरहेको छ । अहिलेसम्म त्यसका १७ वटा संस्करण पूरा भइसकेका छन् ।
प्रतिक्रिया