नेपाल-भारत वाणिज्य सचिवस्तरीय वार्ता आजदेखि

नेपाल-भारत वाणिज्य सचिवस्तरीय वार्ता आजदेखि


काठमाण्डु-नेपाल–भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा पारवहन अन्तरसरकारी समिति (आईजीसी) बैठक शुक्रवारदेखि काठमाडौंमा हुँदैछ । बैठकमा दुई देशबीचको वाणिज्य सन्धि परिमार्जनका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय समकक्षी सुनिल बर्थवाल सहभागी हुँदैछन् । सन् २०२० पछि दुई देशबीच वाणिज्य सचिव स्तरमा यस्तो वार्ता हुन लागेको हो ।

बैठकमा नेपाल–भारत व्यापार सन्धि २००९ को समीक्षा, नेपाल–भारत पारवहन सन्धि २०२३ अन्तर्गतका केही सम्झौता र अनधिकृत व्यापार सम्झौता २००९ का विषयमा छलफल हुने जनाइएको छ ।

नेपाल र भारतबीच आलोपालो यस्तो बैठक आयोजना हुने गरेको छ । यसअघि नयाँदिल्लीमा बैठक भएको थियो । आईजीसी बैठक ६/६ महिनामा बस्ने प्रावधान भएपनि यसपटक लामो समयपछि बस्न लागेको हो ।

गत वर्ष माघमा काठमाडौंमा भएको व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकले दुई देशबीचको वाणिज्य सन्धि संशोधन प्रक्रिया पुनः थाल्ने सहमति गरेको थियो । सोही अनुसार यसपटकको आईजीसी बैठकमा त्यही एजेन्डामा प्रमुख रूपमा छलफल हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वार्तामा निकासी–पैठारीमा देखिएका समस्याबारे पनि छलफल हुनेछ ।