जापानका बक्सर फुजीमुरासँग भिड्दै हिमचितुवा

जापानका बक्सर फुजीमुरासँग भिड्दै हिमचितुवा


काठमाण्डु – अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।

यही असोज ३१ गते आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग भिड्ने भएका हुन् ।

फुजीमुरा के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । आज सामाजिक सञ्जालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जानकारी दिएको छ ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए ।

उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी अविरलले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।