नेपालकाे शान्तिप्रकिया विश्वकै नयाँ माेडल : अध्यक्ष दाहाल

नेपालकाे शान्तिप्रकिया विश्वकै नयाँ माेडल : अध्यक्ष दाहाल


काठमाडाैं– अफगानिस्तानको उच्च शान्ति परिषद्को टोलीसँगको भेटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् । नेपालको शान्ति प्रक्रियाको मोडल बारे अध्ययन गर्न राजधानी आइपुगेको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलको टोलीले बिहीबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकाे थियाे ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए । ‘नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो, नेकपा अध्यक्ष दाहालले भने, ‘हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।’

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताइन् ।

सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्वन्द्वको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा समेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।