नेपाल जितको निरन्तरता दिन चाहन्छ, मलेसियालाई जित्नै पर्ने दबाब

नेपाल जितको निरन्तरता दिन चाहन्छ, मलेसियालाई जित्नै पर्ने दबाब


काठमाण्डु – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुने छ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुने छ ।

यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुंगो लगाउने छ । नेपालले मलेसियालाई हराएमा पपुवा न्युगिनी (पिएनजी) फाइनल प्रवेश गर्ने छ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्ने छ । फाइनल खेल सोमबार हुने छ ।

पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ । दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो ।

मलेसियाविरुद्धको खेलमा प्रशिक्षक पुबुदु दसानायकेले बिहीबार पिएनजीविरुद्ध उतारेको टोलीलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ ।सो खेलमा दिपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका थिए भने डेब्यु खेलमै आदिल आलमले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन बनाएका थिए ।

बलिङतर्फ तीव्र गतिका बलर करण केसी ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले टी–२० क्रिकेटमा ५० विकेटसमेत पूरा गरेका थिए ।

यता नेपालविरुद्धको पहिलो खेलमा मात्र ११४ रनमा समेटिएको मलेसिया उच्च प्रदर्शनका साथ फाइनलमा स्थान बनाउन चाहन्छ । पिएनजीविरुद्धको पहिलो भेटमा जित निकालेको मलेसिया शुक्रबार भने बलियो योगफलका बाबजुद निराश भएको थियो ।