ओमानसँग पनि नेपाल पराजित

ओमानसँग पनि नेपाल पराजित


काठमाण्डु-आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र तीन चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट झारे । बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बने ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको २२१ रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

ओपनिङ कमजोर देखिएको नेपालको मध्यक्रम सम्हालिएर पूरै ५० ओभर खेल्दा सम्मानजनक योगफल खडा गरेको थियो । कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक बनाए । पौडेलले ७२ बलको सामना गर्दै चार छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाउँदा गुल्सनले ३५ बलको सामना गर्दा ५३ रन जोडेका थिए ।

नेपालका लागि सम्हालिएर खेलेका आरिफ शेखले ८८ बलको सामना गर्दै ३५ रन बनाए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल बेन्चमा रहेको खेलमा अर्जुन साउद, आरिफ शेख र अनिल शाहले खेल्ने मौका पाएका थिए ।

गुल्सनले पाँच विकेट लिएको खेलमा नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले समान एकएक विकेट हात पारे । क्यानडामा जारी सिरिजको यो शृङखलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो ।