किन बारम्वार कमजोर हुन्छ नेपालको राहदानी ?

किन बारम्वार कमजोर हुन्छ नेपालको राहदानी ?


काठमाण्डु-नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर फेरि तल झरेको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले सार्वजनिक गरेको सूचकांकमा अघिल्लो वर्षभन्दा यसपटक नेपालको राहदानीको स्तर खस्किएको छ ।

नेपालको राहदानी कैयौँ वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको लहरमा आउने गरेको छ । यसअघि ‘अन अराइभल’ भिसा दिने गरेका देशहरूले कमजोर राहदानीका कारण भिसा दिन छोडेको धेरै वर्ष भइसकेको छ ।

हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकांकको विश्व वरीयतामा २०२५ मा नेपाल १०१ औं स्थानमा छ । जबकी सन् २०२४ को जनवरीमा नेपाल ९८ औं स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ ।

सूचंकाकअनुसार भारतको वरियता पनि पाँच अंकले घटेको छ । सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ भने अघिल्लो वर्ष ८० औं स्थानमा थियो ।

सन् २०२५ को राहदानी सूचकांकमा सिंगापुर विश्वमै शीर्ष स्थानमा परेको छ । उसको राहदानीले १९५ देशमा भिसा–मुक्त पहुँच सुविधा प्रदान गर्छ ।

दोस्रो स्थानमा जापान छ । जापानको राहदानीले १९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन छन् । यस्तै, अमेरिका नवौँ नम्बरमा छ । उसको राहदानीले १८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्‍याङ्किङले त्यहाँका नागरिकको अवस्था र देशको कूटनीतिक सम्बन्धलाई उजागर गरेको छ ।

रिपोर्टअनुसार पाकिस्तानी राहदानी विश्वव्यापी रूपमा सबैभन्दा खराब छ । पाकिस्तानको राहदानी सोमालियाको भन्दा पनि खराब छ ।

त्यस्तै अफगानिस्तान, इराक, सिरियालगायत देशको राहदानी पनि विश्वमा कमजोर राहदानीमध्येमा परेको छ ।

अन्तर्राष्ट्रिय समुदायमा कुनै पनि देशको मानप्रतिष्ठा मापन गर्ने विभिन्न सूचक मध्ये राहदानी महत्वपूर्ण सूचक रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । आर्थिक, शैक्षिक लगायत अन्य प्रमुख सूचकहरूमा पछाडि परेको नेपाल राहदानीको मामिलामा पनि अत्यन्तै कमजोर देखिएको छ ।

राहदानीको स्तर घट्दा विश्व सम्बन्धमा पनि नेपाल कमजोर भएको छ । जसका कारण विगतमा धेरै वटा एसियाली र युरोपेली देशहरूले नेपाली नागरिकलाई ‘अन अराइभल’ भिसा दिने गरेका अहिले यो सुविधा दिने ४० वटा देश मात्र छन् ।

नेपाली राहदानी किन कमजोर ?

नेपालको राहदानी किन यति कमजोर भयो भन्ने विषयमा विशेषज्ञहरूले अनेक पक्ष र कारण रहेको बताउँछन् । उनीहरूले राजनीतिक र आर्थिक अवस्था, अस्थिर राजनीति, छिट्टो–छिट्टो सरकार परिवर्तनले पनि राहदानी कमजोर भएको बताउँछन् ।

त्यसैले कतिपय देशले नेपाललाई भिसारहित यात्राको सुविधा दिन चाहँदैनन् । अस्थिर राजनीतिका कारण नेपाल प्रतिसुरक्षा चासो बढ्दा पनि राहदानी कमजोर भएको हो । विशेषज्ञहरूले विश्व समुदायमा नेपालको कूटनीतिक प्रभाव न्यून बनेकाले त्यसको असर राहदानीमा पनि परेको बताउँछन् । यसका साथै विदेश भ्रमणमा जाँदा कतिपय नेपाली नागरिक र सरकारी अधिकारीहरू नै भिसाका नियम उल्लंघन गर्दा राहदानीको विश्वसनीयतामा असर पुर्‍याएको छ ।

राहदानीको दुरुपयोग, भिसा ओभरस्टे, शरण खोज्ने बहानामा बस्न खोज्ने, अवैध आप्रवासन र जाली कागजातहरूको बढ्दो प्रयोग पनि राहदानी कमजोर भएको हो ।