काठमाण्डु-प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट गएराति १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो ।
यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुख समेत हेरफेर भएका छन् । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो । कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबीमा सरुवा गरिएको छ । यस्तै विशेष ब्यूरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई पनि प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । हालै डीआईजीमा बढुवा भएका भोला बहादुर रावलले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।
लुम्बिनीमा डीआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ । त्यहाँ कार्यरत कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उनले अब प्रहरी प्रवक्ताको समेत जिम्मेवारी पाउनेछन् ।
डीआईजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा यथावत राखिएको छ । उनीसँगै डीआईजी बनेका दुवै जनाले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । सदूरपश्चिमका प्रहरी प्रमुख रविन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ ।
यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ ।
प्रतिक्रिया