काठमाडौं— शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित फर्म पुलिस युनिट अनामिड १५औं समूहमा खटिएको नेपाल प्रहरीको टोली स्वदेश फिर्ता भएको छ।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई बिहीबार प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले स्वागत गरे। घिमिरेले मिसनमा गरेका कामको अनुभव र दक्षतालाई आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा एकआपसमा समन्वय गरी लागू गर्न निर्देशन दिए।
सो अवसरमा उक्त टोलीका कन्टिन्जेन्ट कमाण्डर प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मिसनमा गरेका कार्यप्रगतिको विवरण, चुनौती, कामको अनुभव लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
२०७४ फागुन १३ गतेदेखि २०७६ साल वैशाख १९ गतेसम्म मिसनमा रही स्वदेश फिर्ता भएको टोलीमा प्रहरी उपरीक्षक २, प्रहरी नायव उपरीक्षक ७, प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक २३, प्रहरी सहायक निरीक्षक ३७, प्रहरी हवल्दार ५४, प्रहरी जवान ६ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी जम्मा १ सय ३८ जना रहेका छन्।
प्रतिक्रिया