प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने तयारी : अर्थले दियो सहमति

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने तयारी : अर्थले दियो सहमति


काठमाण्डु– नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हट्ने भएको छ । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन लामो समयदेखि प्रयास हुंदै आएको थियो । तर, प्रहरी अधिकारीहरुको अस्वस्थ प्रतिस्पर्धाले यो रोकिंदै आएको थियो ।

सरकारको पदावधि र उमेर हदको व्यवस्थामा हेरफेर गर्ने गरी अध्यादेश ल्याउने निर्णयलाई अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सेवा अवधि हटाउने प्रस्ताव अघि बढेको हो । तर, अर्थमन्त्रालयले एक वर्षपछि मात्र लागु हुने गरी प्रस्ताव अघि बढाउन भनेको छ । सरकारले भने तत्काल लागु हुने गरी प्रस्ताव अघि बढाउने तयारी गरेको छ । यद्यपी यसमा गृहमन्त्री बालकृष्ण खांड र गृहसचिव बिनोप्रकाश सिंह असन्तुष्ट छन् ।

गृहसचिव सिंहका भाई अशोक सिंह एआईजी हुंदै आईजीपी बन्ने दौडमा रहेकाले उनि यो रोक्न लागि परेका छन् । तत्काल अध्यादेश लागु नभए सिंहलाई यसको प्रत्यक्ष फाइदा पुग्नेछ । तर, सिंहभन्दा अघि वरियतामा डिआईजी बसन्त कुंवर र टेकप्रसाद राई रहेका छन् । अहिले एआईजीको बढुवा भए एक नम्बरमा आउने गरी सिंह लविङमा लागेका छन् ।

अर्थमन्त्रालयले सहमति दिएसंगै अब कानुनमन्त्रालय र लोकसेवा आयोग हुंदै उक्त प्रस्ताव मन्त्रिपरिषदमा जानेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर लागु हुनेछ ।

सुरक्षा विज्ञहरुले सेवा अवधि हटे राज्यलाई आर्थिक भार कम पर्ने तर्क गर्दै आएका छन् । उनिहरुले प्रहरी कर्मचारी चांडो अवकास भएपछि पेन्सनलगायतको आर्थिक भार धेरै हुने दावी गर्दै आएका छन् । प्रहरीमा सिपाही तथा हवल्दारको उमेर हद ४८ वर्ष छ ।

तर, अध्यादेशअनुसार अब सिपाही तथा हवल्दारको अवकाशको उमेर हद ५१ वर्ष बनाउन लागिएको छ । यस्तै सई र असईको ५४ वर्ष, इन्स्पेक्टर र डीएसपीको उमेर हद ५५ वर्ष एसपी र एसएसपीको ५६ वर्ष पु¥याइएको छ भने पदावधि ६ वर्ष बनाइएको छ ।

त्यसैगरी एआईजीको उमेर हद ५६ वर्षको रहेकोमा ५७ वर्ष र पदावधि ४ वर्ष बनाइएको छ । प्रहरी महानिरीक्षक उमेर हद ५८ पु¥याइएको छ । पदावधि भने एक वर्ष घटाइएको छ । यसअघि प्रहरी महानिरीक्षकको ४ वर्ष कार्यकाल रहेकोमा अब ३ वर्ष बनाइएको हो ।

सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६५ ले पनि ३० वर्षे सेवा अवधि हटाउनुपर्ने सुझाव दिएको थियो । पूर्वआइजिपी कुवेरसिंह राना नेतृत्वको कार्यदलले दिएको सुझावमा सेवावधि हटाएर पदावधि कायम गर्नुपर्ने उल्लेख छ ।

विश्वका अरु मुलुकहरुमा समेत प्रहरी सेवामा उमेरको हद तोकिएको छ । तर, नेपालमा भने यो विषय राजनीतिकरण भइरहेको छ ।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बालुवाटारले निरन्तरता दिन चाहेको छ । ३० वर्षे सेवाअवधि नहटे उनी यसै वर्षको अन्तिममा अवकासमा जानेछन् । तर, सिंहलाई नै निरन्तरता दिने पक्षमा बालुवाटार रहेको स्रोतको दावी छ ।