प्रहरीले माग्यो थप ८ हजार दरबन्दी

प्रहरीले माग्यो थप ८ हजार दरबन्दी


काठमाडौं- नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो ।

प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पु-याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालयसहित दुई हजार ३३५ युनिट कार्यरत छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिए । ‘मुलुकको प्रत्येक स्थानीय तहमा प्रहरीको उपस्थिति हुन कम्तीमा एक युनिट राख्नैपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालयसँग थप दरबन्दी माग गरिएको छ,’ उनले भने ।

एसएसपीदेखि सिपाहीसम्म माग
प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा एसएसपीदेखि सिपाहीसम्मको दर्जा रहेका छन् । मुलुक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन खडा गरिनुपर्नेछ ।  आजको नयांपत्रिका दैनिकमा समाचार छ ।