नेपाल कोकिन तस्करीको ‘ट्रान्जिट’: तस्कर विदेशमा, भरिया मात्रै पक्राउ

नेपाल कोकिन तस्करीको ‘ट्रान्जिट’: तस्कर विदेशमा, भरिया मात्रै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – २०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ। कोकिन तस्करीमा संलग्न स्वेदशी तथा विदेशी गरी हालसम्म २० जना पक्राउ परेका छन्।

 

 

 

 

नेपालमा कोकिनका दुर्व्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको दाबी छ। कोकिन कारोबारीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाइरहेका छन्। प्रहरीले हालसम्म बरामद गरेको कोकिन विदेशी सूचनाकै आधारमा हो। प्रहरीले सूचना नपाएका कोकिन अहिले पनि नेपालको बाटो हुँदै तस्करी भइरहेको प्रहरी अधिकारी अस्विकार गर्दैनन्।

 

 

 

 

कोकिन ओसारपसार अपराधमा खासगरी बोलिभियाली, फिलिपिनी, मलेसियाली, दक्षिण अफ्रिकी, थाई, चिनियाँ, पाकिस्तानी, भारतीय, नाइजेरियाली र भेनेजुएलाका नागरिक पक्राउ परेका छन्। कोकिन तस्करीमा हालसम्म एक जना मात्र नेपाली संलग्न देखिएको छ। तस्करहरूले नेपाली रुट हुँदै कोकिन ओसार्ने भरिया नेपाल पस्नुअघि नै होटलदेखि फर्किने हवाई टिकटसमेत व्यवस्था गरेका हुन्छन्। प्रहरीबाट जोगिन ह्वाट्स एप र भाइबरमा कुराकानी गर्छन्। तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन्।

 

 

 

 

पछिल्लोपल्ट एनसीबीले बोलिभियाली फ्रेडी ममानी अन्डिया र थाई नागरिक खुन्जाई खनारातलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गर्‍यो। फ्रेडीले उल्लेखित रुटबाट कोकिन ल्याएकी थिइन्। खुन्जाई फ्रेडीबाट कोकिन लिएर हङकङ लैजान काठमाडौं आएकी थिइन्।

 

 

 

 

तस्करले धेरै उपयोग गर्ने अन्तर्राष्ट्रिय रुटमा बोलिभिया, ब्राजिलको साओपाओलो, इथियोपिया, भारतको नयाँ दिल्ली हुँदै नेपाली विमानस्थल पर्छन्।

 

 

 

 

प्रहरीले कोकिन बरामद शृंखलामा २०७१ चैत २० गते ११ किलो कोकिनसहित मलेसियाली महिला मरिना बिन्ती जमलाद्धिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। यो प्रहरीले अहिलेसम्मकै बरामद कोकिनमध्ये सर्वाधिक परिमाण हो। मरिनाले ल्यापटप आकारका ५ ब्यागमा ‘फल्सबटम’ बनाएर कोकिन ल्याएकी थिइन्। काठमाडौंबाट कतारको दोहा हुँदै इटली जान लागेकी मरिना पक्राउ पर्दा उनले ‘ब्याग सबै लैजाऊ, मलाई छाडिदेऊ’ भन्दै अनुनय गरेकी थिइन्। आफूले १० पल्ट कोकिन ओसारपसार गरेको बयान दिएकी थिइन्।

 

 

 

 

अहिलेसम्मको प्रहरी अनुसन्धानले तस्कर बोलिभियामा बसेर भरियामार्फत कोकिन कारोबार गर्दै आएको देखाएको छ। एनसीबी प्रमुख डीआईजी ठूले राईका अनुसार पक्राउ भरियाहरूले कोकिनको कारोबार दक्षिण अमेरिकी देश पेरु र ब्राजिलबाट सुरु हुने र गन्तव्य अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकालगायत देश रहेको बताएका छन्। दूरीका हिसाबले उतैको रुट सिधा र निकै नजिक भए पनि सुरक्षित ओसारपसार गर्न लागूऔषध तस्करले लामो रुट अपनाउने राईले बताए।

 

 

 

 

कोकिन : क्याप्सुलदेखि नाइलनको डोरीसम्म

 

प्रहरीका अनुसार तस्करले झुक्याउन प्लास्टिक कोटेड क्याप्सुलदेखि नाइलन कोटेड डोरीलगायत विभिन्न वस्तुभित्र कोकिन राखी तस्करी गर्दै आएका छन्। २०७० फागुन ६ गते विमानस्थलबाट पक्राउ परेका नामिबियाली रेमन्ड जुंगु ओपेलले प्लास्टिक कोटेड क्याप्सुलमा कोकिन ल्याएका थिए। पेटको एक्स-रेमा क्याप्सुल देखिएपछि उनलाई अस्पतालमा लगी १ किलो ९ सय ४ ग्राम कोकिन बरामद गरिएको थियो।

 

 

 

 

३ पाकिस्तानी महिला क्रमशः क्रिस्टिना, लोइस र आयशाले बिएन्डएस स्याम्पूको बट्टा, रेक्सोना इफिसियन्ट स्याम्पूको बट्टा, भिल्ला रिका कफिको प्याकेट र सुटकेसको डन्डीमा २ किलो ८ सय ३० ग्राम कोकिन ल्याएका थिए। भेनेजुएलाकी यमरिस कारमेन नाराभेजले गत वर्ष जेठ ९ गते ल्याएको १ किलो ६ सय २६ ग्राम कोकिन लिन आएका पपुवा न्युगिनीका मोहमेद लमाइन डोवा, नेपाली दिलबहादुर तामाङ र भारतीय तोइड खान पक्राउ परेका थिए। उनले माछा मार्ने प्लास्टिकको डोरीमा कोकिन ल्याएकी थिइन्। डीआईजी राई भन्छन्, ‘कोकिन बरामदमा हालसम्म भरिया नै पक्राउ परेका छन्। सुरक्षा जाँच छल्न उनीहरुले धेरै विधि अपनाएको देखिन्छ।’

 

 

 

 

कानुन संशोधन आवश्यकता

 

एनसीबीका अनुसार खासगरी तस्करले नेपाललाई ट्रान्जिट बनाउने ३ वटा कारण छन्। पहिलो आगमन कक्षको फितलो सुरक्षा जाँच, दोस्रो नेपाल आइपुगेपछि स्थलमार्गबाट भारत वा चीनतिर लैजान सहजता र तेस्रोमा पक्राउ नै परे पनि कमजोर कानुन र थोरै सजाय व्यवस्था। लागूऔषध नियन्त्रण ऐन २०३३ ले लागूऔषध कारोबारमा संलग्नलाई १ वर्षदेखि १५ वर्ष र हदै भए जन्मकैदको व्यवस्था गरेको छ। ४० वर्ष पुरानो ऐन समयानुकूल परिमार्जन नगरिँदा प्रहरी कारबाहीमा समेत समस्या हुने गरेको एनसीबीका अधिकारी बताउँछन्। डीआईजी राईले भने, ‘ऐन परिमार्जनसहित नयाँ प्रविधि र प्रक्रियाबाट पनि लागूऔषध डिटेक्ट गर्नुपर्ने बेला भइसकेको छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।