काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ । सेनाले अमेरीकी सेना र नेपाली सेनाको विचमा ब्यालेन्स नेल नामक अभ्यास सुरु भएको जनाएको छ । सेनाको महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा उक्त अभ्यास सोमबारबाट सञ्चालन भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार संयुक्त अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकारजस्ता विषयहरुमा आधारित रही दुवै सेनाबीच संयुक्त अभ्यास हुनेछ । सेनाले अभ्यास असोज २ सम्म संचालन हुने जनाएको छ । संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत साउन ३२ गते आवश्यक तालिम सामाग्री सहित नेपाल पुगेको थियो ।
संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्ने सेनाले जनाएको छ ।
यसका साथै दुई देशको सेनाको सहकार्यहरुबाट नेपाल र अमेरीकाबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया