काठमाडाैं– भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो ।
खेलको शुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । पहिलो हाफसम्म १–० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ५८आँै र ५५औँ मिनेटमा गोल गरिन् ।
२–१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औँ मिनेटमा पुनःगोल खायो । यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र भारतबीच खेल हुनेछ ।
बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान बङ्गलादेशसँग ५–० ले पराजित भएको थियो ।
नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग २८ गते ३–० ले पराजित भएको थियो ।
प्रतिक्रिया