नेपालद्वारा कम्बोडिया–नेपाल सिधा उडानको प्रस्ताव

नेपालद्वारा कम्बोडिया–नेपाल सिधा उडानको प्रस्ताव


काठमाण्डु – नेपालले कम्बोडिया–नेपाल सिधा उडानको प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका मन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतका बारेमा पनि कम्बोडियाली मन्त्रीलाई जानकारी गराएका थिए । यस्तै, दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने मन्त्री पाण्डेले बताए ।

पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा मन्त्रीद्वयबीच छ्लफल भएको थियो ।

भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएका छन् ।