कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप

कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप


काठमाडौं– कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।

आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे । देवेन्द्रराज कँडेल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने र बहादुरसिंह लामाले पार्टी पराजित हुनुमा टिकट बाँड्ने संसदीय समितिमा बस्ने सबै दोषी रहेको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरे ।

विश्वकर्माले टिकट लाँदा अंशवन्डा जसरी लगेकाले अहिले विरोध गर्न नसुहाउने बताए । ‘निर्वाचनमा पराजित भएपछि सभापतिलाई मात्र दोष थोपर्न खोजिएको छ,’ उनले भने, ‘टिकट बाँड्ने बेला अंशवन्डा गरे जसरी गर्ने अनि अहिले दोष सभापतिलाई मात्र दिन मिल्दैन ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

समीक्षा बैठक सोमबार बिहान साढे ८ बजे बस्ने गरी डाकिएको छ । अब बढीमा दुई दिनसम्ममा चुनावी समीक्षा बैठक सकाउने तयारी देउवाको छ । सोमबारको बैठकमा युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, नविन्द्रराज जोशीसहितका नेताले लिखित प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

केबी गुरुङले समर्थन फिर्ता लिँदै भने देउवाले दुई वर्षमा दुःखी बनाए
केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिएको बताएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन प्रस्ताव गरेर जिताउन भूमिका खेलेका उनले दुई वर्षमा देउवाले विश्वासघात गरेको भन्दै समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।

‘१३औँ महाधिवेशनमा उहाँ (शेरबहादुर देउवा) लाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त मर्माहत हुन पुगेको छु । अतः मैले देउवाजीलाई १३औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित हुन पुगेको छ ।’

केन्द्रीय समितिमा लिखित प्रस्ताव पेस गर्दै उनले भनेका छन्, ‘पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको परवाह नराखी मैले १३औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदछु ।’

तत्कालीन कोइराला पक्षमा भए पनि गुरुङ देउवाको प्रस्तावक बनेका थिए । तर, दुई वर्षपछि उनले महाधिवेशन प्रतिनिधिसहितको विश्वास र मतलाई देउवाले अन्याय गरेको आरोप लगाएका हुन् । ‘देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्नुभयो,’ उनले भनेका छन्, ‘पार्टी विधानबमोजिम दुई महिनाभित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिबाट पूर्ण रूपमा बेवास्ता भयो ।’

भ्रातृसंस्था परिचालन नभएको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगरपालिकामा पार्टीको सिद्धान्त, नीतिविपरीत कार्यसमितिलाई पनि छलेर देउवा सत्ताकेन्द्रित मोहमा पर्दै हँसिया हथौडामा भोट मागेको आरोप उनको छ । प्रधानमन्त्री बन्दा देउवाका क्रियाकलाप प्रभावकारी नभएको समेत उनले जिकिर गरेका छन् ।

महाधिवेशनमा देउवाले गुरुङलाई कुनै न कुनै पद दिने आश्वासन दिएका थिए । तर, दुई वर्षमा उनले कुनै पनि पद पाउन सकेनन् । गुरुङ ६४ निर्वा्चित केन्द्रीय सदस्यमध्येका एक हुन् । पदाधिकारी प्रस्तावलाई अनुमोदन गर्न निर्वा्चितको बहुमत चाहिन्छ । निर्वा्चितमध्ये खुमबहादुर खड्काको निधनपछि अब ६३ सदस्य छन् । जसमा ३२ सदस्य आवश्यक पर्छ । गुरुङ र अर्का नेता चन्द्र भण्डारीले छोडेपछि देउवा पक्षमा अब ३४ केन्द्रीय सदस्य छन् । यसअघि पौडेल पक्षबाट जिते पनि डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का र चीनकाजी श्रेष्ठ देउवानिकट पुगेको चर्चा कांग्रेसभित्र छ ।

बैठकमा कसले के भने ?
कांग्रेसले नाकाबन्दी देखेनः प्रदीप पौडेल
अहिलेको परिणाम नआएको भए नेतृत्व समीक्षाका लागि तयार हुने थिएन । तर, म यस्तो मान्यता मात्र राख्दिनँ । निर्वाचनको सेरोफेरोमा भएका घटनाको मात्र समीक्षा होइन कांग्रेस सत्तामा जान थालेदेखि समीक्षा जरुरी छ । १५ सालमा कांग्रेसले दुईतिहाइ मत ल्याउँदा कम्युनिस्ट ७ प्रतिशत थिए । तर, अहिले हामी ३३ प्रतिशतमा खुम्चिँदा कम्युनिस्टले ४८ प्रतिशत मत ल्याएका छन् ।

यस्तो हुने वातावरण हामी कांग्रेसहरूले बनायौँ । हामीले विचार, रूपान्तरण र अग्रगमनबारे बहस गरेनौँ । बिपी बितेको ३५ वर्ष भयो । तर, हामीले बदलिँदो यो समयमा पनि त्यतिखेरकै आर्थिक विषयसहितका विषयबाटै काम चलायौँ ।

अब यसरी मात्रै चन्दैन । नीति, सिद्धान्त, संगठनात्मक कार्यशैली, चरित्र र व्यवहारको समीक्षा हुनुपर्छ । निर्वाचनको सम्मुखमा भएका घटनाले अझ बढी निर्वाचनलाई असर गरेको छ । सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा हामी चुक्यौँ । बेलायत र अमेरिकामा भएका नेपालीको जुलुसले नाकाबन्दी भन्दै विरोध गरे । तर, काठमाडौंमा भएका कांग्रेसले नाकाबन्दी भनेर स्विकारेनौँ । बिपीले दुःख गरेर जोगाएको हाम्रो राष्ट्रियतामा दाग लागेको छ ।

प्रधानमन्त्रीको कामले मतदाता तर्सिए । लोकतान्त्रिक गठबन्धन शक्तिशाली नेताको थियो, कांग्रेसको थिएन । एमाले र माओवादीले एक–अर्कालाई भोट हाल्दैनन् भन्ने हिसाब निकाल्यौँ । तर, निर्वाचन जित्ने गरी टिकट दिएनौँ । सही मान्छेलाई टिकट नदिँदा ३० सिट घाटा लागेको छ । यसको जिम्मेवारी कसले लिने ?

आसेपासेको सानो घेराले घेरिने, आर्थिक लाभलाई महŒव दिने, पार्टीलाई निजी कम्पनी सम्झने प्रवृत्ति सभापतिलगायत सबैमा छ । गणेश भयो भने पुरस्कृत र कुमार भए दुःख पाइने प्रवृत्तिको अन्त्य नभएसम्म कांग्रेस उँभो लाग्दैन । विधानभन्दा माथि कोही हुँदैन । विधानले व्यवस्था नगरेका विषय कार्यान्वयन गर्ने अधिकार कसैलाई छैन ।

आलोचनाको नाममा पार्टीको बदनाम नगरौँ : ईश्वरी न्यौपाने
हिजो निर्वाचनअघि टिकट बाँड्ने समितिमा बस्न नेताहरूबीच प्रतिस्पर्धा भयो । आफू परेपछि सबैथोक जितियोजस्तो गरियो । हामीले मानेका नेताहरू रामचन्द्र दाइ (रामचन्द्र पौडेल), प्रकाशमान दाइ (प्रकाशमान सिंह) हरूले समितिमा बसेर निर्णय गर्नुभयो । टिकट बाँड्नुभयो अनि अहिले पार्टीको बदनाम र बेइज्जत हुने गरी सार्वजनिक रूपमा लिखित प्रस्ताव ल्याउनु राम्रो होइन । निर्णय प्रक्रियामा सहभागी भएपछि तपाईंहरू पनि उत्तिकै दोषी हुनुहुन्छ । सभापतिलाई मात्र लाञ्छना लगाउने र दोषी देख्ने प्रवृत्ति पटक्कै सुहाउँदिलो देखिएन ।

टिकट बाँड्ने समितिका सबै दोषी : देवेन्द्रराज कँडेल
हिजो गिरिजाप्रसाद कोइरालाको समयमा पनि शान्ति प्रक्रियापछि पहिलो संविधानसभामा माओवादीभन्दा पछाडि परेका थियौँ । द्वन्द्वबाट देशलाई निकाल्दै गर्दा पहिलो पार्टी भएका थिएनौँ । अहिले तीन तहको निर्वाचन गराए पनि हामी जित्न सकेनौँ । तर, हामी हारेपछि आरोप–प्रत्यारोपमा उत्रिएका छौँ । टिकटमा भागबन्डा गर्ने, आफूनिकटलाई टिकट चाहिने अनि आफू अनुकूलको नतिजा नआएपछि सभापतिलाई मात्र दोष थोपर्ने कुरा सान्दर्भिक छैन ।

पदाधिकारी चयनसहितका विषय निर्वाचनलगायतका विषयले ढिलाइ भएको छ । हिजो सुशील कोइरालाको पालामा पनि तीन वर्षपछि पदाधिकारी मनोनीत भएको हो । अहिले मिडियामा अनावश्यक प्रचार गरिँदै छ ।

अन्तर्घातीलाई कारबाही गर्रौं : बहादुरसिंह लामा
निर्वाचनमा हार्ने्वित्तिकै सबैथोक सकिए जसरी आरोप–प्रत्यारोपमा उत्रिरहेका छौँ । यो शैली उचित छैन । हो, गल्ती भएका छन्, तर निर्वाचनमा टिकट बाँड्ने समितिमा बस्ने सबै दोषी छैनौँ ? हिजो समितिमा बसेर टिकट लानेले आज सभापतिलाई मात्र दोषी देख्न मिल्दैन । निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउने गरी अन्तर्घात भएका छन् । यसका लागि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।

केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि
कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।

गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश सूचीमा राखेका छन् ।

देव सिफारिसमा परेनन्
गच्छदारले तयार पारेको सूचीमा पूर्व पर्यटनमन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव परेनन् । पार्टी एकीकरणको बेला गच्छदारसँग तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष देवको सम्बन्ध बिग्रिएको थियो । गच्छदारकै निर्देशनमा सिफारिस समितिले उनको नाम नपारेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनलाई कांग्रेसको कुनै विभागमा सिफारिस गर्ने तयारी छ ।

सिफारिस समितिको निर्णयअनुरूप नै सूची
तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सिफारिसअनुसार गच्छदारले सूची तयार पारेका हुन् । गच्छदारनिकट नेता योगेन्द्र चौधरीले केन्द्रीय सदस्य बनाउन १५ जनाको सूची तयार भएको पुष्टि गरे ।

‘३० असोजमा पार्टी एकीकरण गर्दा भएको सहमतिबमोजिम एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउन १५ जना नेताको नाम तयार पार्नुभएको छ ।’ चौधरीले नयाँ पत्रिकासँग भने ‘आन्तरिक समितिले गरेको निर्णयलाई नै सिफारिस गर्ने निष्कर्षमा अध्यक्षज्यू (विजय गच्छदार) पुग्नुभएको छ । गच्छदार आमन्त्रित केन्द्रीय सदस्यका रूपमा कांग्रेस कार्यसमिति बैठकमा उपस्थित भइरहेका छन् । बैठकमा आफूले धारणा राख्नुअघि १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउन सिफारिससहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीमा छन् ।