नेकपासँग कांग्रेसको प्रस्तावः उपसभामुख दिए सभामुखमा समर्थन गर्छौं !

नेकपासँग कांग्रेसको प्रस्तावः उपसभामुख दिए सभामुखमा समर्थन गर्छौं !


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई उपसभामुखमा समर्थन गर्न आग्रह गरेको छ । सभामुखमा असन्तुष्टी जनाएको कांग्रेसले उपसभामुखमा भने समर्थन मागेको हो ।

नेकपाले लामो समयको रस्साकस्सीपछि सभामुखमा पूर्वमाओवादी नेता अग्नी सापकोटाको नाम सिफरिस गरेको छ । तर प्रतिपक्षी दलले भने सापकोटाकोविरुद्धमा अर्को उम्मेद्वार उठाउने तयारी थालेको छ ।

नेकपाले उपसभामुख कांग्रेसलाई दिए आफूहरुले पनि सभामुखमा नेकपालाई समर्थन गर्न सकिने कांग्रेसका एक नेताले जानकारी दिए ।

‘सत्तारुढ दलको हैसियतले सभामुखमा उहाँहरुकै हक लाग्छ । तर, उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान रहेकाले हामीले पाउनुपर्छ’, काठमाडौंपाटीसँग कुरा गर्दै ति नेताले भने, ‘यदी भागबन्डा मिलेको खण्डमा सभामुखमा हाम्रो समर्थन उहाँहरुलाई छ ।’

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले सभामुखको निर्वाचन प्रक्रिया सुरु भएसँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनेछिन् भने नेकपाले उपसभामुख दाबी गर्न पाउने छैन । यदी कांग्रेसले उपसभामुख नपाए सभामुखविरुद्ध उम्मेद्वार खडा गर्नेछ ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सभामुखको क्यालेन्डर सार्वजनिक भएपछि पार्टीको बैठक बसेर सापकोटाविरुद्धमा उम्मेद्वार खडा गर्ने बताइन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने सभामुखमा नेकपाले दाबी गरेपछि उपसभामुख स्वभाविक रुपमा फरक दलले पाउनुपर्ने बताए । उनले उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएका कारण पनि कांग्रेसले पाउनुपर्ने बताए । उनले नेकपासँग औपचारिक रुपमा उपसभामुख नमागेको जानकारी दिए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा प्रष्ट बहुमत भएकाले सभामुख नेकपाले नै लिओस् र उपसभामुखमा प्रमुख प्रतिपक्षलाई समर्थन गर्न आग्रह गरेका छन् ।