काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा गर्न नेताहरु सहमत भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा चलेको छलफलपछि नेताहरु महाधिवेशनको मितिमा सहमत भएका हुन् ।
पुस ११ गतेको कांग्रेस केन्द्रीय समितिले बहुमतको बलमा १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने निर्णय गरेको थियो ।
मिति अघि सार्नुपर्ने भन्दै असन्तुष्ट नेताहरुलै बैठक बहिस्कार गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलालगायतले जसरी पनि महाधिवेशनको मिति सार्नुपर्ने भन्दै असन्तुष्ट जनाएका थिए । देउवाइतरका नेताहरुले रणनीति बनाउने जिल्ला सभापतिहरुको भेलासमेत डाकेका थिए ।
विवाद समाधानका लागि सभापतिहरुले देउवाइतरका नेताहरुलाई सुझाव दिएपछि देउवा निवास पुगेका थिए । यही विषयमा छलफल गर्न बुधवार पनि देउवा निवासमा बैठक डाकिएको थियो । उक्त बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक डाकिएको हो ।
बैठकमा विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति भएको छ । शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ । महाधिवेशन तोकिएकै मितिमा हुने सहमति भएको पार्टीका वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पुष्टी गरे ।
नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिवार टुंगो लाग्ने छ । शुक्रवार नै नेताहरुबीच नेविसंघ र तरुण दल सम्बन्धी सहमति पनि जुटेको बताइएको छ ।
उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो । कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ । त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उनले बताए । शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमवार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
प्रतिक्रिया