१ असोजबाट १० पुससम्म कांग्रेसको सांगठनिक विशेष अभियान

१ असोजबाट १० पुससम्म कांग्रेसको सांगठनिक विशेष अभियान


काठमाण्डु – १ असोजबाट १० पुससम्म सत्तारुढ दल नेपाली कांग्रेसले सांगठनिक विशेष अभियान सञ्चालन गर्ने भएको छ । १०० दिनको यो अभियानमा पार्टीको सांगठनिक कामका केन्द्रका नेता जिल्ला संगठनमा खट्ने कार्यादेश पार्टी केन्द्रीय कार्यालयले तयार गरेको छ ।

कांग्रेसले पार्टीका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन अभियान गर्न लागेको जानकारी दिएको छ । अभियानमा ७७ जिल्लामा केन्द्रका नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर पठाउने तयारी कांग्रेसकोे छ । प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिनिधिलाई जिल्लामा विधान बमोजिम नियमित बैठक/सम्मेलन नभएको अध्ययन गरी नभएको भए नहुँनाको कारणको खोजी गरी समस्या समाधान गर्नुपर्ने कार्यादेश दिइने छ । स्थानीय सरकार र पार्टीको बीचमा समन्वय हुन नसक्नुको कारण केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गरिदिन पर्ने कार्यादेश पनि दिइने छ । कांग्रेसका २० जिल्लामा अहिले समस्या देखिएको छ ।

केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राखेर गर्नुपर्ने कामबारे जानकारी र प्रक्रिया सिकाउनेछ । सांगठनिक कमजोरीको पहिचान गरी प्रतिनिधिले गर्नसक्ने समाधान निकाल्नु पर्ने महामन्त्री गगन थापाले जानकारी दिए ।

जिम्मेवारी लिएर गएको व्यक्तिले सम्बन्धित कार्यसमिति, सभापति वा केन्द्रबाट शीर्ष नेता बोलाएर भएपनि विवाद समाधान गरी फर्कर्ने कार्यादेश दिइने महामन्त्री थापाले जानकारी दिए ।

केन्द्रीय प्रतिनिधि खटाउने कार्यादेशमा केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर बैठक बसालेपछि मातहतका संरचनामा आफैले प्रतिनिधि खटाउने कार्यादेश दिइएको छ ।

अभियान सकेर फर्किएपछि प्रतिनिधिले जिल्लागत प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरुको ढाँचासमेत अभिमुखीकरणमा प्रतिनिधिहरूलाई उपलब्ध गराइने का.ग्रेसले जनाएको छ ।

कार्यादेशमा आफू गएको जिल्लामा यो समस्या थियो । यो यो गरेर आएँ । अहिलेको अवस्था यस्तो छ भनेर प्रतिनिधिले प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गरिएको छ ।