काठमाडौँ – प्रमुख प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसको शिरमाथि तरबार राख्ने काममा कांग्रेसको समर्थन हुन नसक्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै शर्माले मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई प्रेस स्वन्त्रतालाई कुण्ठित गरेको भन्दै तत्काल संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन् ।
शर्माले भने संहिताको दफा २९३ देखि ३०८ सम्मको गोपनीयताविरुद्धको कसुरसँग जोडिएका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने खालका रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने कांगेसले माग गरेको हो ।
उनले कांग्रेस नेतृत्वको सरकारकै पालामा विधेयक पारित भए पनि त्यस्तो प्रावधान ल्याइनु आफ्नै पार्टीको समेत कमजोरी रहेको स्वीकार गरे । ‘सरकारले प्रेस संकुचित बनाउने प्रावधान हटाउने अग्रसरता लिओस्,’ उनले भने, ‘कांग्रेसले पूर्ण समर्थन गर्नेछ ।’
‘पौने दुई सय वर्ष पुरानो मुलुकी ऐनलाई बदलिएको समाजअनुकूल परिमार्जन गर्न कांग्रेसले गरेको नेतृत्व हाम्रा लागि गौरवपूर्ण छ,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा छ, ‘तर अभ्यासमा आउनुपूर्व नै अनुभूत भइसकेका केही कमजोर प्रावधान आवश्यक संशोधन गरेर मात्रै अघि बढ्नुपर्छ ।’ कांग्रेसले चिकित्सा पेसालाई मर्यादित बनाउन संहितामा संशोधन आवश्यक रहेकोसमेत उल्लेख गरेको छ ।
कांग्रेसले स्थानीय तहले लिने कर व्यवस्थित बनाउन पनि सरकारसँग माग गरेको छ । स्थानीय तहले जथाभावी कर संकलन गर्न थालेको विषयमा चौतर्फी विरोध हुन थालेपछि आफ्नो पार्टीबाट विजयी स्थानीय तहका प्रमुख, उपप्रमुखलाई भदौ ११ गते प्रशिक्षण दिने भएको छ ।
प्रतिक्रिया