यसरी तुहियो देउवालाई कांग्रेस संसदीय दलको नेता सर्वसम्मत बनाउने योजना

यसरी तुहियो देउवालाई कांग्रेस संसदीय दलको नेता सर्वसम्मत बनाउने योजना


काठमाडौं ‍- कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई सर्वसम्मत बनाउने योजना असफल भएको छ।

सभापति देउवाले आफूलाई सर्वसम्मत गराउन कसरत गरिरहेका छन्। उनले आफ्ना प्रत्याशी सिंहलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिनेसम्मका प्रस्ताव पठाएको स्रोत बताउँछ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो पक्षको भूमिकालाई निरन्तरता दिन सिंहको उम्मेदवारीमा कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन्। कांग्रेस सभापति देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुँदा आफ्नो पक्षको अस्तित्व नरहने आकलन गर्दै पौडेल पक्षले सिंहको उम्मेदवारी दर्ता गराएको हो। देउवाको पक्षमा करिब ४० जना रहेको दाबी उनका समर्थक विश्वकर्मा गर्छन्। पौडेल पक्षले पनि आफूहरूसँग २५ मत रहेको दाबी गरेको छ।

सभापति देउवाका विशेष दूत गोपालमान श्रेष्ठ र रमेश लेखक पार्टी संसदीय दलको नेतामा देउवालाई सर्वसम्मत गराउन असफल भएका छन्। उनीहरूले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता डा. रामशरण महतलगायतसँग २४ घण्टायता पटक-पटक वार्ता गरे पनि दलको नेतामा सर्वसम्मति हुन सकेन। देउवाको विशेष सन्देशसहित पौडेलनिवास बोहराटार पुगेका लेखकले सर्वसम्मति गर्न आग्रह गर्दै उपनेतामा आफ्नो पक्षीय नेता पठाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ।

‘सभापतिको नाममा सर्वसम्मति गरौं, उपनेतामा तपाईंको पक्षलाई दिन्छौं’, लेखकले प्रस्ताव राखेका थिए। तर, पौडेलले अबको कांग्रेस देउवाबाट चल्न नसक्ने जवाफ दिएको स्रोतको दाबी छ। पार्टीको समग्र पक्षको सुधारमा देउवा असफल भइसकेकाले तत्काल पदको लोभ त्याग्न सक्नुपर्नेमा पौडेलले जोड दिएका थिए।

पौडेल पक्षीय महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्र दलको नेता हुने धारणा व्यक्त गर्दै आएका छन्। उनले सोही धारणामा प्रतिबद्ध रहँदै दलको नेतामा उम्मेदवारी दिएनन्। डा. महतले पनि श्रेष्ठ र लेखकलाई निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै प्रजातान्त्रिक मूल्य-मान्यतामा सभापतिलाई हिँडाउन आग्रह गरेका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्ट्मा छ।