काठमाण्डु – नेपाल आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटबाट बाहिरिएको छ । शनिबार दुबईमा भएको अन्तिम तथा निर्णायक खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउनबाट बञ्चित बनेको हो ।
यूएईले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा अलआउट हुँदै ७९ रनमै समेटिन पुग्यो । नेपालका लागि कुनै पनि खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । इन्दु बर्माले १५ रन तथा सिता रानामगरले १२ रन जोड्नुबाहेक अन्य खेलाडी दोहोरो रनका लागि क्रिजमा टिक्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न यृुएईका समैरा धर्निधर्काले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, खुशी शर्मा र चमानी सेनेभिरत्नले समान २र२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । यूएईको विशाल योगफलमा चामनी सेनेभिरात्नाले अर्धशतकसहित सर्वाधिक ५२ रन बनाइन् । ३६ बल खेलेकी चामनीले ७ चौका प्रहार गरेकी थिइन् । यस्तै थीर्थ सतिशाले ४७ रन बनान् । अर्धशतक बनाउन ३ रनले चुकेकी सतिशाले ४६ बलमा ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, कभिशा इगोदगेले २२ रनको योगदान गरिन् ।
यता, टस जितेर फिल्डिङ गरेको नेपालको लागि कविता कुँवरले दुई विकेट लिइन् भने सब्नम राई, सीता राना मगर र संगीता राईले एक एक विकेट लिए । जितसँगै युएईले समूह विजेता बन्दै अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान पक्का गरेको छ । यूएई ५ खेलमा शतप्रतिशत जितका साथ १० अंक बनाएर शीर्ष स्थानमा रह्यो । नेपालको भने ५ खेलमा ३ जित, २ हारसहित ६ अंक छ ।
प्रतिक्रिया