अमेरिकी सेन्सस् ब्युरोका अनुसार अमेरिकामा द्रूतगतिमा बढिरहेका एसियाली समुदायहरूमध्ये नेपाली समुदाय पनि एक हो । सन् २०१० मा करीब ५२ हजार नेपालीहरू रहेको अमेरिकामा सन् २०२० सम्म आइपुग्दा करीब २ लाख ६ हजार पुगेको देखिन्छ । यसरी बढ्दो नेपालीको संख्याले अमेरिकामा राम्रै ‘डायस्पोरा’को रूप लिँदैछ ।
हालसालै भएको ममता काफ्ले तथा मुना पाण्डेको केसमा अमेरिकामा रहेका नेपाली समुदायहरू एकजुट भएर मद्दत गरे । यो अत्यन्तै सकारात्मक पक्ष हो । सशक्त डायस्पोरा निर्माणमा यस्तै प्रकारको एकता आवश्यक रहेको हुन्छ । तसर्थ सुरुवाती अवस्थादेखि नै नेपालले अमेरिकामा रहेका नेपाली डायस्पोराहरूसँग सहकार्य, सम्पर्क बढाउँदा त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिन्छ । यसरी नेपाली डायस्पोरालाई सुरुवाती अवस्थादेखि नै नेपाल सरकारले ‘कल्टिभेट’ गर्न सके निकट भविष्यमा अमेरिकामा एउटा प्रभावशाली लबिङ समूहको रूपमा उदाउन सक्छ । जसले काठमाण्डुको पराष्ट्र मन्त्रालय, वासिङ्गटनस्थित नेपाली दूतावास र न्यूयोर्कको नेपाली कन्सुलेटबाट हुने कूटनीतिक प्रयासलाई थप वृद्धि गर्नसक्छ । त्यसैले अमेरिकामा बढ्दो नेपाली डायस्पोरालाई कसरी नेपाली राष्ट्रिय हित प्रबर्द्धनका लागि सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा निम्नलिखित केही उपायहरू फलदायी हुन सक्लान् –
१. अमेरिकी सार्वजनिक संस्थान, बैंक, सिनेटरहरूको कार्यालय, थिंक ट्यांक लगायतमा काम गर्ने कार्यकारी, एडभाइजरी तहका नेपालीहरूको सूची बनाउन सकिन्छ । जसले गर्दा चाहिएको खण्डमा नेपाली प्रतिनिधिले नेपाली मूलका अमेरिकीहरूसँग भेटेर सरोकारका विषय राख्न सकून् । समान संस्कृतिको उपज भएको हुनाले नेपाली प्रतिनिधिले नेपाली मूलका अमेरिकनहरूसमक्ष आफ्नो सरोकारका विषयहरू सजिलो तवरबाट पस्किन सक्छन् । जस्तैः अमेरिका, क्यानाडाले पनि दक्षिण एसियामा आफ्नो प्रतिनिधि पठाउँदा यही क्षेत्रबाट अमेरिका गएर नागरिक भएका वा यही क्षेत्रका मातापिताबाट जन्मिएका व्यक्तिहरू प्रायः पठाउँछन् । जसको उद्देश्य भनेको कूटनीतिमा समान जस्तो अनुहार, संस्कृति देखिएपछि ‘डील’ गर्न सजिलो होस् भनेर हो ।
२. बहुपक्षीयवादमा विश्वास राख्ने विश्वको खम्बाको रूपमा रहेको विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली तथा नेपाली मुलुकका अमेरिकीहरूको सूची तयार पार्न सकिन्छ । जसले नेपाली चाखलाई प्रतिनिधित्व गर्न सकोस् । नेपालको न्यूयोर्कमा हुने नेगोसियसनमा यी वर्गहरूको मद्दतबाट आशा गरेको नतिजा हात पार्न प्रयास गर्न सकिन्छ । उदाहरणका लागि यहाँ कार्यरत नेपालीले यूएनमा डकुमेन्टेसन कसरी गर्ने, सम्बन्धित विषयमा प्रशासनिक ढिलासुस्ती भएको छ भने खुकुलो पार्न मद्दत गर्न सक्छन् ।
३. अमेरिकामा विशेषत भौतिकशास्त्र (फिजिक्स) स्नाकोत्तर वा विद्यावारिधिको उपाधि प्राप्त गरेर अमेरिकी वैज्ञानिक अनुसन्धान केन्द्रमा काम गरिरहेका नेपालीहरूको सूची पनि आवश्यक छ । भौतिकशास्त्र विज्ञानको एक प्रमुख विषय भएकाले विज्ञान प्रविधिको क्षेत्रमा पनि नेपालले केही परियोजना ल्याउनुप¥यो भने यस किसिमको सूचीले मद्दत गर्छ । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) ले पनि बेला–बेला केही अनलाइन/अफलाइन कार्यक्रमहरू आयोजना गरेर यो सूचीमा भएका नेपाली भौतिकशास्त्री वा नेपाली मूलका अमेरिकी भौतिकशास्त्रीहरूसँग सहकार्य गरिरहनुपर्छ । जसले नास्टलाई विश्वमा वर्तमान समयमा भएको भौतिकशास्त्रमा नयाँ अध्ययन एवं खोजबारे सुसूचित गराउँछ ।
४. सिलिकन भ्यालीमा कार्यरत नेपालीहरूको सूची तयार पारेर अमेरिकामा नेपालमैत्री प्रविधि लबिङ गर्न पनि सकिन्छ । सिलिकन भ्याली अहिले २१औं शताब्दीको पुँजीवादको उन्नत फूलबारी भएकाले यस क्षेत्रमा काम गरेर सफलता प्राप्त गरेका नेपाली एवं नेपाली मूलका अमेरिकनहरूको सूचीले राज्यलाई फाइदै गर्छ । राज्यले नेपाली सिलिकन भ्याली प्रोफेसनल समूहलाई भारतीय, इजरायली लगायत समूहसँग पनि जोड्न भूमिका खेल्न सक्छ । त्यसमा पनि सिलिकन भ्यालीमा कार्यरत महिला प्रोफेसनहरूको समूह पनि जोड्न सकिन्छ । यस प्रकारको सिलिकन भ्यालीमा कार्यरत नेपालीहरू एवं नेपाली मूलका अमेरिकनहरूको समूहको सहकार्य एवं सम्पर्कले नेपालमा हुर्किंदै गएको आईटी कम्पनीलाई पनि गोडमेल गर्न, बिजनेश दिन मद्दत गर्न सक्छ ।
५. अमेरिकी संसद्मा रहेको नेपाली ककसलाई फेरि ब्युँताउनुपर्छ । जसले नेपाली हित अमेरिकी सर्वोच्च निकायसामु प्रतिबिम्ब गर्न सकोस् । नेपालमा मानवअधिकार, प्रेस अधिकार, लोकतन्त्र, अर्थतन्त्र लगायत समग्र विषयहरूको सकारात्मक प्रभाव विस्तार गर्न रिपब्लिकन एवं डेमोक्रेटिक पार्टीका सांसदहरूसँग सम्पर्क स्थापित गर्न सकिन्छ ।
६. मार्सी चामल, ढिँडो, नेपाली पञ्चे बाजा, नेपाली सांगीतिक उपकरणहरू लगायतका सामग्रीहरू त्यहाँका राज्यहरूमा दर्ता गराएर नेपाली पहिचानलाई विश्वमा चिनाउन सकिन्छ । जसका लागि अमेरिकामा भएका नेपाली एवं नेपाली मूलका अमेरिकनहरूले खोलेका रेष्टुँरामार्फत पहलकदमी लिन सकिन्छ ।
७. अमेरिकामा रहेको भारतीय डायस्पोरा विशाल र प्रभावशाली छ । नेपाल र भारतको डायस्पोरा धेरै विषयमा संयुक्त रूपमा काम गर्न सक्छन् । चाडपर्वमा दीपावली, दुर्गा पूजा, गणेश चतुर्थी लगातयको कार्यक्रम गरेर हिन्दू धर्म संस्कृतिको सामूहिक उत्थान गर्ने, विश्वमा वेद, भागवत गीता लगायतको हिन्दू ग्रन्थहरू केवल भारतको मात्र हो भन्ने भाष्य स्थापित हुँदै गएको छ । यो भाष्यमा परिवर्तन ल्याउनका लागि नेपाल–भारत डायस्पोरा संयुक्त रूपमा मिलेर यो नेपाल–भारतको साझा धरोहर हो भन्ने भाष्य कायम गर्न सकिन्छ । सिद्धार्थ गौतम बुद्धका उपदेशहरूको अन्तर्राष्ट्रियकरण, योग साधनाको ज्ञान विस्तार गर्न, सामाजिक कलंकको रूपमा दुवै देशमा रहेको दलित माथिको शोषण आदि हटाउन पनि संयुक्त रूपमा नेपाल–भारत डायस्पोरा अमेरिकामा काम गर्न सक्छ ।
अन्त्यमा, नेपाली विदेश नीति सञ्चालनको परिपाटी हेर्दा पूर्ण रूपमा प्रशासनिकभन्दा माथि उठ्न सकेको देखिँदैन । रणनीतिक रूपमा विदेश नीति सञ्चालन नेपाल जस्तो मुलुकका लागि आवश्यकता भइसक्यो । प्रायः विदेशी प्रतिनिधिसामु पनि हाम्रो नेतृत्व वर्गले ‘नोट टेकर’ विना नै वार्ता गरिदिने परिपाटीले पनि संस्थागत वा प्रणालीगत स्मरण कमजोर भएको हुनाले नेपालको कूटनीति कमजोर छ । नेपालमा रहेका प्रायः देशका दूतावासहरू केवल दाताको हैसियतमा रहेका र नेपाललाई मात्र दान दिनुपर्ने, नेपालबाट आफ्नो बिजनेश लैजान नसक्ने अवस्थाले पनि प्रायः दूतावासहरूले भारतको नयाँदिल्लीबाटै नेपाललाई कन्सुलर सेवा दिन र कूटनीति पनि उतैबाट सञ्चालन गर्ने परिपाटी विकास हुँदै गएको देखिन्छ । यसले बिस्तारै नेपालको आफ्नो स्वतन्त्र हैसियत विश्व कूटनीतिमा गुम्दै गएको आभास हुँदै गएको छ । तसर्थ सो विषयको निराकरण र राष्ट्रिय हित प्राप्त गर्नका लागि डायस्पोरासँगको सहकार्य एवं सम्पर्क आवश्यक छ ।
राज्यले धेरै माथि उड्ने बाँज चरा जस्तो भएर अमेरिकामा हामीलाई काम लाग्ने मानिसहरू को–को हुन् ? कसले के गरिरहेका छन् ? कसको खुबी के छ ? कसलाई कहाँ, कसरी नेपाली राष्ट्रिय हितमा प्रयोग गर्न सकिन्छ भनेर हेर्न सक्नुपर्छ । तसर्थ नेपालको कूटनीतिक विकासमा डायस्पोरासँग सहकार्य तथा सम्पर्क अनिवार्य शर्त हो ।
उल्लेखित सुझावहरूको मद्दतबाट अमेरिकामा रहेका नेपाली डायस्पोरासामु जान सके नेपाललाई फाइदा हुने देखिन्छ । यस्तो योजनामा अमेरिकामा रहेको नेपाली दूतावास र कन्सुलेटको अभिभावकीय भूमिका हुन्छ ।
प्रतिक्रिया