काठमाडौँ : भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन। टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ।
नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ। यसअघि मन्त्री महराले शनिवार दुई पटक भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग सीमा बाँधको ढोका खोल्न टेलिफोन वार्ता गरेका थिए। राजदूतसँगको कुराकानीका आधारमा मात्रै सीमा बाँधका ढोका नखोलिएपछि मन्त्री महराले पुन समकक्षी स्वराजसँग टेलिफोन वार्ता गरेका हुन।
गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ। गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनसरीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक/एक जना बेपत्ता भएका छन् । विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ।
बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन्।
राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैया राहत दिने घोषणा गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा सोमबारदेखि बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जादैछन्। गृहमन्त्री जनाद्र्धन शर्मा आइतवार नै बाढी र डुवान प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा गएका थिए। अाजकाे अन्नपूर्ण पाेष्टबाट।
प्रतिक्रिया