बोटलर्स नेपालको शेयर कारोबार रोक्का

बोटलर्स नेपालको शेयर कारोबार रोक्का


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) को शेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करीब १ महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोध्दै शेयर कारोबार रोक्का गरिएको छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ मा भएको व्यवस्था उल्लंघन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार रोक्का गरिएको हो ।

नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीले कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको र सञ्चालक समितिको निर्णय के–कति कारणले समयमा जानकारी नदिएको हो भनेर ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको जानकारी दिए ।

नेप्सेले बोटलर्स नेपाललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘मंसिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिने सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा २०८१ पुस २ गते प्राप्त भयो ।’

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।