काठमाण्डु-अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ ।
नेपथ्यले छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपटक अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरमा आफूलाई प्रस्तुत गर्नेछ ।
सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरबाट सांगीतिक यात्रा सुरु गर्नेछ । कोलोराडोमा नेपथ्यले पहिलोपटक सांगीतिक यात्रा गर्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ ।
त्यसपछिको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ ।
तेश्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा अगस्त १७ तारिखमा हुनेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य पुग्नेछ । त्यहाँ सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो । यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ । यो कार्यक्रम अगस्त २४ तारिखका दिन हुनेछ ।
त्यसपछि अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपटक ‘टर्मिनल फाइभ’ मा आफ्ना लोक धुनहरू पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।
न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ!’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ ।
यसरी अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको शृखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो ।
प्रतिक्रिया