अमेरिकाको चुनावी परिणामले नयाँ नेतृत्व सामुन्ने आएको छ । डोनाल्ड ट्रम्पको अमेरिकी नयाँ राष्ट्रपतिमा भएको चयनलाई संसारभरका राजनीतिक पण्डितले नयाँ राष्ट्रवादका रूपमा हेरेका छन् । यद्यपि, विश्व समुदायलाई उदारवाद र अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने अमेरिकामा लोकप्रिय नेतृ हिलारी क्लिन्टनलाई पछि पार्दै चर्को राष्ट्रवादको नारासँग ट्रम्प चुनिनु कुनै संयोग मात्र होइन ।
आधुनिक समयमा राष्ट्र(राज्यको परिकल्पना तथा उदारवादी विचारको उदय युरोपमा भएको थियो । आज उही यूरोपमा ब्रेक्जिटको राजनीतिक परिदृश्य तथा फ्रान्स, अस्ट्रिया, इटालीजस्ता देशमा राष्ट्रवादी नेताको उदय हुँदै छ । अमेरिकाको नयाँ राष्ट्रवादी नेतृत्वलगत्तै विभिन्न पश्चिमा देशमा आगामी चुनाव निकट आउँदै छ ।
ब्रिटेनमा निगेल फराजको उपस्थिति तथा फ्रान्समा मरी ल पेन, अस्ट्रियामा नाबर्ट हाफरजस्ता नेताको लोकप्रियता दिनप्रतिदिन बढ्दै छ । छिमेकी देश भारतमा पनि सन् २०१४ को लोकसभा चुनावमा तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी भाजपाको चुनावी नेतृत्व लिँदै, विपक्षी पार्टीहरूको अति उदारवादलाई खण्डन गर्दै, राष्ट्रवादी नाराको आधार बलियो बनाउँदै दुईतिहाइ बहुमतले भारतका प्रधानमन्त्री बन्न सफल भए । आज मोदी संसारकै सर्वाधिक लोकप्रिय नेता बनेका छन् ।
यी घटनाक्रमले वैश्विक जनमानसको मतले आफ्नो राष्ट्रप्रति कटिबद्ध स्पष्ट वक्तालाई अधिक विश्वास गर्दै छ भन्ने पुष्टि गरेका छन् । नेपालमा गत चार दशकमा लोकतन्त्रको अभ्यास सँगसँगै गत दशकदेखि उदारवादको पनि खुब प्रयोग भइरहेको छ । जसको परिणाम नेपाली जनताले राजनीतिक अस्थिरता, विकासको शून्यता, रोजगारीका निम्ति युवाशक्ति पलायनका रूपमा खेपिरहेका छन् । जसका कारण आज नेपाल विश्व विकासमा धेरै पछि परेको छ ।
कहिले राजतन्त्रलगायतको प्रजातान्त्रिक अभ्यास त कहिले संघीयतासँगै गणतन्त्रको प्रयोग, यी उदारवादी प्रयोगले आज नेपालको जातीय समाजलाई आपसमा विभाजन गर्ने प्रयास भइरहेको छ । उदारवादी खोलमा जातीयता, मधेसी, पहाडी, हिमालीको नाम दिएर नेपाली जनतालाई नेपालमै कटुतामा बदल्ने अनि नेपाली गर्विलो राष्ट्रियतालाई कमजोर पार्ने प्रयास भइरहेको छ । अन्य मुलुकमा विस्थापित हुँदै गएको सिद्धान्त नेपालमा फेरि प्रयोग गर्ने प्रयास गरिँदै छ । पछिल्ला दशकदेखि जातीय पहिचानका नाममा नेपाली समाजभित्र राष्ट्रियताप्रतिको गर्वको साटो जातीय गर्वलाई प्राथमिकता दिने काम भयो । जातीयताका आधारमै संघीय प्रदेश बनाउने प्रयाससमेत भयो ।
निश्चय नै यस कार्यले जातीय पहिचान र जातीय उत्थानको साटो जातीय समूहलाई राजनीतिक भोटबैंकका रूपमा मात्र प्रयोग गर्ने अवस्था सिर्जना भयो । हालको सात प्रदेशको सीमांकन ढाँचामा पनि भूभागीय असन्तुष्टिलाई छल्काउने काम भइरहेको छ । सांस्कृतिक विविधतामा एकै चेतना भएको समाजमा शाब्दिक जालको भुमरी बनाई समाजलाई फुटाउने प्रयाससमेत भइरहेको छ । नेपालको राष्ट्रियता, मूल्य–मान्यता र सांस्कृतिक सम्पदालाई अवमूल्यन गरिरहेको छ । यी सबै घटना तुष्टीकरण, उदारवाद र केही निजी स्वार्थ प्रयोजनमिश्रित कार्यको चेहरा हो । अब जनता धेरै समय चुप लागेर बस्नेछैनन् । नेपाली जनतामा अब यी कर्णप्रिय नाराबाट मोहभंग हुँदै गएको छ ।
अब व्यावहारिक र आफ्नो मौलिक पहिचानसँगै वास्तविक राष्ट्रियतासमेतको पहिचानमा देश विकास चाहन्छ । यसको झलक भर्खर मात्र प्रदेश नम्बर ४ र ५ को सन्दर्भमा पश्चिम नेपाल बुटवलमा देख्नुपर्यो । स्वस्फूर्त लाखौँ आमजनता सडकमा राष्ट्रवादको ममता बोकेर उर्लिए । मधेस, पहाड, हिमाल एकै नेपालको नारा गुन्जियो । उदारवादको नाममा नेपाली नेता प्रयोग भए पनि नेपाली जनता राष्ट्रियताका लागि सचेत छन् । फलस्वरूप त्यस क्षेत्रका विभिन्न पार्टीका नेताहरू आफ्नो इज्जत बचाउनैका लागि भए पनि आ–आफ्ना पार्टीको निर्णयविपरीत जनताका पक्षमा बोल्न बाध्य भए । यस्तै दृश्य गत साल अखण्ड सुदूरपश्चिम आन्दोलनमा पनि देखिएको थियो । यो त सुरुवाती चरण मात्र हो ।
आगामी समयमा यो राष्ट्रवादी भावनासहितको आन्दोलनले अझै गति लिनेछ । पूर्वमा प्रदेश नम्बर १ ,२ र ३ को समस्या अझै सुल्झिने अवस्था छैन । विदेशी देखादेखी या इसारामा उदारवादी खोलमा लोकतन्त्रको दुरुपयोग गर्दै भइरहेको यो खेल नेपालमा नेपाली जनताले स्विकार्न पक्कै गाह्रो छ । नेपाली जनतामा आयातीत विचार लादेर अब लादिनेछैन भन्ने यी आन्दोलनले स्पष्ट गरिसकेका छन् । देशको विकासस्तर खस्किँदै गएको वेला, भूकम्पको विनाशलीलापछि पुनर्निर्माणको बाटो हेरिरहेको र देशको अर्थव्यवस्था परनिर्भर भइरहेको वेला नेपाली जनताले एउटा सुनौलो निकास खोजिरहेका छन् । उनीहरूले देशमा राजनीतिक स्थायित्व खोजिरहेका छन् ।
छिमेकी मुलुकको प्रगति हाराहारीसँगै आत्मसम्मानसहित कदम चाल्न खोजिरहेका छन् । नेपालीले आफूलाई विश्वको विकसित देशको नागरिकसँग बराबरी गर्न खोजिरहेका छन् । नेपाली जनता अब अंकगणितीय राजनीतिका आधारमा सिर्फ सत्ता टिकाउने, उदारवादी नीति भन्दै ढुलमुले रवैया राखेर स्पष्ट निर्णय गर्न नसक्ने नेतृत्व होइन, आफ्नो राष्ट्रप्रति जिम्मेवार, स्पष्ट दृष्टिकोण, दृढ राजनीतिक इच्छाशक्ति, सक्षम निर्णय गर्न सक्ने राष्ट्रवादी नेतृत्वको खोजीमा छन् ।
अब नेपाली जनता त्यस्तो नेतृत्वतर्फ ढल्किँदै छन् जसले लोकतन्त्रमा त्रुटिपूर्ण उदारवादलाई पन्छाई लोकतन्त्रमा राष्ट्रवादलाई प्राथमिकता दिन्छ । आफ्नै देशको स्वदेशी उत्पादनलाई विकसित गर्दै परनिर्भरताबाट छुटकारा दिलाउँछ । स्वदेशमै रोजगारी सिर्जना गरेर देशको युवाशक्तिलाई परदासताबाट मुक्त गराउँछ । जसले आफ्नै देशको मूल्य–मान्यता, धर्म, संस्कृति र आफ्नै माटोको सुगन्धका आधारमा जनहितको राजनीति गर्छ । जसले देशको प्राकृतिक स्रोतलाई उच्च सदुपयोग गरी देशलाई समृद्ध मार्गमा लैजान्छ । अब नेपालमा यस्तै नेताको उदय हुने संयोग बन्दै छ, जसले देश विकासलाई लोकतन्त्रसँगै राष्ट्रवादको आडमा मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली भन्ने अनुभूति गराउँदै देशलाई अगाडि बढाउनेछ ।
हाल नयाँदिल्लीमा रहेका राना नेपाली कांग्रेससम्बद्ध छन् ।
साभारःनयापत्रिका
प्रतिक्रिया