काठमाण्डु- कोभिड–१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन् । यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (एचएमपीभी) हो, जुन एक आरएनए भाइरस हो ।
भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड–१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन् । यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ । जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
चीनको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु हो । एचएमपीभीबाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को केसहरू पनि रिपोर्ट गरिएको छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ ।
यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरेको छ ।
खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ । यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ । समाचार संस्था रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ ।
एचएमपीभी भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो । एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए । तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ । यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ ।
प्रतिक्रिया