मदन पुरस्कार आख्यानकार नीलम कार्कीलाई

मदन पुरस्कार आख्यानकार नीलम कार्कीलाई


काठमाडाैं–  मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले साेमबार कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि  दुई लाख रहनेछ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिए।

मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि विद्रोहिणी चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।