पत्रकार मञ्चको अध्यक्षमा विद्रोही

पत्रकार मञ्चको अध्यक्षमा विद्रोही


काठमाडाैं– नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको बुधबार सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।

काठमाडाैं सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल निर्वाचित गरेको छ ।  सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिष अवस्थी, पासाङ शेर्पा, मनुका कुँवर, सुनिता लोहनी तथा बसन्त शर्मा चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेरले नेपाल र इजराइलबीचको कुटनीतिक सम्बन्धले दुई देशबीचको आर्थिक विकासमा योगदान पुर्याउन मद्धत पुगेको बताए।  उनले इजरालमा प्रयोग हुँदै आएको आधुनिक कृषि प्रणालीबाट नेपालले पनि धेरै सिक्न सक्ने बताए।  ‘केही समययता नेपाली युवाहरु इजरालयमा पुगेर त्यहाँको आधुनिक कृषि प्रविधिबाट सिकेर नेपालमा पनि त्यसको व्यवसायिक प्रबद्र्धन गर्न थालेका छन्, ’राजदूत ओमेरले बताए।

कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताए। विगतमा परिवर्तनका निम्ति नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले व्यवसायिक पत्रकारिताको निम्ति जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मुलुकी संहिता जारी भएपश्चात स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको बताए।उनले  भने,‘अहिले जारी मुलुकी अपराध संहिताले स्वतन्त्र प्रेसमाथि सोझै अंकुश लगाउन सक्ने देखिएको छ । यसलाई सच्याउन महासंघ सरकारसँग माग गर्दछ ।’

नवनिर्वाचित अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने बताए । उनले मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने बताए।  ‘यदि स्वतन्त्र प्रेसको विपक्षमा कुनै पनि कानुन आउछ भने त्यसको कडा प्रतिपाद गर्न महासंघ लगायत पत्रकार मञ्च सदैव क्रियाशील हुनेछ ,’ उनले भने।

सोही कार्यक्रमा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरिएको थियो भने अग्रजपत्रकारद्वय अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो।