सडकमै चिसो रात काट्नेहरूका सारथी

सडकमै चिसो रात काट्नेहरूका सारथी


काठमाडौं– हिउँदको चिसो रातमा सडकपेटीमा रात बिताउन बाध्य भएकाहरूलाई सहयोग गरिएको छ। ‘हाम्रो वाल अफ काइन्डनेश’ मार्फत् सडकपेटीमा रात गुजार्ने व्यक्तिहरुलाई न्यानो लुगा दिइएको हो।

बौद्ध स्थित स्तुपामा ‘ॐ मणी पद्मे हुँ’ भन्दै स्तुपा घुम्नेहरुलाई लुगा प्रदान गरिएको ओजस्वी केसीले बताइन्। शारीरिक अपांगता भएकाहरु र सड्कमै रात कटाउनेहरुले सहयोग गर्ने गरिएको बताउँदै उनले भनिन्, ‘ठूलो सहयोग त सकिँदैन, न्यानो लुगा सहयोग गर्ने गरेका छौं।’

कपडा बोकेर बौद्ध पुगेकी थिइन्, बिनु कार्की। उनका अनुसार सन् २०१५ को जाडो याममा ईरानबाट शुरु भएको ‘वाल अफ काइन्डनेश’ अर्थात दयाको पर्खाल अभियान नेपालमा पनि जारी छ। जसलाई तीन तन्नेरीहरुले यस बर्षदेखि नेपालमा शुरु गरेका हुन्।

ओजस्वी, बिनु, दिपिका पराजुली र अर्पणा कार्की एउटै ब्याजी अर्थात सैनिक आवासिय मावि भक्तपुरबाट २०६७ सालमा एस. एल.सी. पास गरेका सहपाठी हुन् । एस. एल.सी. पछि ओजस्वी कानुन पढ्न थालिन्, बिनुले नर्सिङ रोजिन् भने दीपिकाले ईन्जिनियरिङ्ग अध्ययन गरिन् ।

अमेरिकामा बसिरहेकी अर्पणा त्यतैबाट आफ्ना सहपाठीहरुलाई आवश्यक सहयोग गरिरहेकी छिन्। उनीहरुले यस यामको जाडो शुरु भएयता काठमाडौंको चावहिल, बसन्तपुर, स्वयंभु र ठमेल लगायतका स्थानमा न्यानोको लुगा वितरण गरिसकेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकाका सडकमा रात बिताउने असहाय महिला, बालबालिका तथा वृद्धवृद्धाको प्रहरीले उद्धार शुरु गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार तथा पुनस्र्थापना अभियान शुरु गरेको हो।

अभियानमा कालिमाटी, स्वयम्भूर सितापाइला क्षेत्रबाट ७ जना असहायको उद्धार गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उद्धार गरिएका व्यक्तिहरूलाई हिमालय वृद्धाश्रम गोंगबुमा राखिएको छ। उनीहरुलाई चिसोबाट बच्न लताकपडा समेत वितरण गरिएको छ।