काठमाण्डु- पाकिस्तान र यूएईमा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओरोर्के र नाथन स्मिथलाई आईसीसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको छ । यस्तै श्रीलङ्कासँगको टी–ट्वान्टी र एकदिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका जेकब डफीलाई रिजर्भमा राखिएको छ ।
च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप– सन् २०२३ को शीर्ष आठ टोलीको सहभागीता रहेको छ ।
न्युजिल्याण्डको टोलीमा मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ रहेका छन् । न्युजिल्याण्ड समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
न्युजिल्याण्डले फेब्रुअरी १९ तारिखमा घरेलु टोली पाकिस्तानसँग कराँचीमा खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
प्रतिक्रिया