निजामती सेवा विधेयकमा संशोधनकर्तासँगको छलफल पूरा, १० दिनभित्र प्रतिवेदन लेख्ने तयारी

निजामती सेवा विधेयकमा संशोधनकर्तासँगको छलफल पूरा, १० दिनभित्र प्रतिवेदन लेख्ने तयारी


काठमाण्डु – प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल पूरा भएको छ ।

समितिले संशोधनकर्तालाई छलफलका लागि शुक्रबारसम्मको समय तोकेकोमा छलफल सम्पन्न भएको छ ।

विधेयकमाथि १२४ सांसदबाट १ हजार ५८३ संशोधन परेकोमा ८६ संशोधनकर्ताले समितिमा मत राखेका थिए । विधेयकमा समूहगत रूपमा एकैजना सांसदले ५ दर्जन बढी संशोधन राखेका थिए ।

समिति सभापति रामहरि खतिवडाले निजामती विधेयकमाथिको छलफल निकै अगाडि बढिसकेकाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी गरिएको जानकारी दिए । ‘दफावार छलफलका लागि केही समय लाग्छ, त्यसपछि प्रतिवेदन लेखनको प्रक्रियामा जान्छौं,’ उनले भने, ‘साता/दश दिनमा सक्ने तयारी छ ।’

समितिले निजामती विधेयकका सम्बन्धमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतक, विज्ञ, लोकसेवा आयोगका प्रतिनिधि, समिति सदस्य र संशोधनकर्ता लगायतसँग छलफल गरिसकेको छ ।

सभापति खतिवडाले भने, ‘विधेयकमाथि संशोधनकर्ता सांसदसँगको छलफल सकिएको छ, लोक सेवा आयोगको अन्तिम धारणा लिन्छौं । त्यसपछि दफावार छलफलमा अघि बढ्छौं ।’