काठमाण्डु – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेमाथि साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले साई स्वागत सहकारीको २०७५ पुस २८ को साधारणसभाबाट चुसनिएका सबै पदाधिकारी र सञ्चालकमाथि अनुसन्धनान गर्न प्रहरीलाई पत्र लेखेको हो ।
त्यसबेला अध्यक्षमा भरतमणि जंगम, उपाध्यक्ष निकिता पौडेल, सचिव शंकर उपाध्याय दाहाल र कोषाध्यक्ष लुमन दाहाल तथा सदस्यमा पुरुषोत्तम अधिकारी, रजनीश आचार्य र निशा केसी चुनिएका थिए । लेखासमिति संयोजकमा रामहरि अधिकारी, सदस्यमा जनक गौतम र केदारबहादुर दाहाल चुनिएका थिए ।
महानगरले सहकारी सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएकाले अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्र लेखेको हो ।
साई स्वागत सहकारीका बचतकर्ताले महानगरको सहकारी विभागमा आफूहरूको बचल अपचलन भएको उजुरी दिएका थिए । त्यही उजुरीका आधार।मा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि गरेको अध्ययनमा सञ्चालकहरूले कमजोरी गरेको देखिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम मंगलबार प्रहरीलाई पत्र पठाइएको महानगर स्रोतले जानकारी दियो ।
निकिताले उपाध्यक्ष रहेकै बखत सहकारीबाट धितो नराखी ५० लाख ऋण लिएको देखिएको पनि महानगर स्रोतले जानकारी दियो ।
महानगरमा दिएको उजुरीमा साई स्वागत सहकारीका बचतकर्ताले आफूहरूको करिब १ करोड ९ लाख रुपैयाँ फसेको भन्दै दिलाइदिन माग गरिएको थियो ।
बाँसबारी काठमाडौंमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम अवधि भुक्तानी भइसक्दासमेत संस्थाले फिर्ता नगरेको तथा सर्तअनुसार समयमै साँवाब्याज उपलब्ध नगराई आलटाल गरी ठगी गरेको हुँदा संस्थाका सञ्चालकलाई आवश्यक कारबाही गरी रकम फिर्ता पाउँ भनी निवेदन दिएका थिए ।
त्यही निवेदनका आधारमा ०८० चैत २३ मा काठमाडौं महानगरपालिका सहकारी विभागबाट खटिएका विज्ञसहितको अनुगमन टोलीले सहकारीमा अनुगमन गर्दा विभिन्न पक्षमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएकाले सम्बन्धित सञ्चालकहरूलाई कानुनबमोजिम कानुनी कारबाहीका लागि पत्र पठाइएको महानगरले जनाएको छ ।
प्रतिक्रिया