स्थानीय तह उपनिर्वाचन : ३ पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

स्थानीय तह उपनिर्वाचन : ३ पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने


काठमाण्डु– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई निर्देशन दिएको हो ।

आयोगको यही असोज ३० गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् । १ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी २१ नगरपालिका वडाध्यक्ष र ९ गाउँपालिका वडाध्यक्षको पद पनि रिक्त छ ।

अब दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ ।