निर्मला हत्याकाण्डमा शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारी

निर्मला हत्याकाण्डमा शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड अनुसन्धानमा खटिएका प्रहरीले थप केहि व्यक्तिको डिएनए परीक्षण गर्ने भएका छन् ।

उक्त घटना घटेको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि थप दबाब बढ्दै गएको छ । निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए। ’कम शंका लागेकाहरुको परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ’केही व्यक्ति हाम्रो नियन्त्रणमा छन्। तीमध्ये बढी शंका लागेका माथि डिएनए टेस्ट गरिनेछ ।’

यसअघि हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दीलिपसिंह विष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरिएको थियो।

तर पनि प्रहरी टुंगोमा पुग्न सकेन। निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकीटसँग उनीहरुको शुक्रकीट मेल खाएको थिएन् । अनुसन्धानमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट बर्खास्त गरिसकेको छ।