निर्मला हत्या प्रकरण : निलम्बित र अनुसन्धानमा संलग्न प्रहरीमाथि नै छानबिन हुने, डिआईजीको नेतृत्वमा कमिटी गठन

निर्मला हत्या प्रकरण : निलम्बित र अनुसन्धानमा संलग्न प्रहरीमाथि नै छानबिन हुने, डिआईजीको नेतृत्वमा कमिटी गठन


काठमाडौं – कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्त बलात्कार प्रकरण हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ ।

डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका लागि सिफारिस भएका थिए । समितिका सदस्यहरुमा एसएसपी उत्तमकुमार सुवेदी, निरज शाही डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी लगायत ९ जना रहेका छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘‘पुरानै टोलीको दायरा फराकिलो पारिएको हो । यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ ।’’ यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्नेछ । ‘कञ्चनपुर घट्नामा प्रहरीको भूमिकाको सम्बन्धमा विस्तृत छानविन र प्राविधिक अनुसन्धान गर्नका लागि यो कमिटी बनेको हो’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘गृह मन्त्रालयबाट निलम्बित ६ जनासहित कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न सबै तहका प्रहरी कर्मचारीले खेलेको भूमिकाबारे अनुसन्धान हुन्छ ।’

बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ । नक्कली अभियुक्तको रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामीलाइ निलम्बन गरेको हो