निर्मला हत्या प्रकरण : एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त


काठमाडौं – कञ्चनपुरकी १३ बर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाइलाई बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो । बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको भन्दै भट्टलाई सेवाबाटै बर्खास्त गरिएको हो। यसअघि उनीहरु दुबैलाई स्पष्टीकरण सोधिएको थियो।

गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै मंगलबार मात्रै पत्र बुझेका थिए। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले बुधबार जवाफ पेस गरेका थिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेमकुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तीको प्रक्रिया अगाडि बढाएका थिए । मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

गत साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
विज्ञप्ति :