नयाँ दिल्ली – भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई फेब्रुअरी १ को बिहान ६ बजे झुण्डयाएर मृत्यूदण्ड दिने नयाँ वारेन्ट जारी गरेको छ ।
यो भन्दा अगाडि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराध प्रमाणित भइसकेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाका लागि याचिका दर्ता गरेपछि २२ जनवरीको मितिलाई पर सारिएको हो ।
राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार उक्त याचिका खारेज गरेकाले अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए । मुकेशको याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष पठाएको थियो ।
यसअघि दिल्ली सरकार र उपराज्यपाल अनिल बैजलले पनि दया याचिका खारेज गर्न सिफारिस गरेका थिए ।
यसअघि निर्भया मुद्धाका ४ दोषीलाई पटियाला हाउस अदालतले जनवरी २२ मा मृत्युदण्ड वारेन्ट जारी गरेको थियो । चार मध्ये मुकेशकुमारले राष्ट्रपतिसमक्ष दया याचिका दर्ता गरेका थिए ।
उक्त याचिका शुक्रबार अस्वीकृत भएको थियो । दया याचिका खारेज भएपछि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ ।
प्रतिक्रिया