एजेन्सी – भारतमा जन्मिएका अर्थशास्त्री अभिजित बनर्जीले अर्थशास्त्रको नोबेल पुरस्कार भारतीय भेशभुषामै ग्रहण गरेका छन् । अभिजित बनर्जीले नोबेल पुरस्कार थाप्दा गलाबन्द ज्याकेट र धोती लगाएका थिए ।
संयुक्त रुपमा पुरस्कार पाएका बनर्जी र उनकी फ्रान्सेली पत्नी एस्थर डुफ्लोले नीलो साडी तथा रातो ब्लाउज लगाएकी थिइन् । यो पुरस्कारका तेस्रा साझेदार माइकल क्रेमरले सूट लगाएर पुरस्कार थापेका थिए ।
नोबेल पुरस्कार समितिले यो पुरस्कार समारोहको एक भिडियो सेयर गरेको छ । यसमा अभिजित, डुफ्लो तथा माइकल क्रेमरले आफ्नो मेडल तथा प्रशंशा पत्र लिँदै गरेको देखाइएको छ ।
नोबेल पुरस्कार समितीले आफ्नो वेबसाइटमा लेखेको छ, ‘यस वर्षको नोबेल पुरस्कार विजेताले गरेको अनुसन्धानले विश्वव्यापी गरिबीसँग लड्ने हाम्रो क्षमतामा व्यापक सुधार गरेको छ । उनीहरुको प्रयोग आधारित दृष्टिकोणले केबल दुई दसकमा विकास अर्थतन्त्रमा परिवर्तन ल्याई दिएको छ । अब यो अनुसन्धानको एक समृद्ध क्षेत्र भएको छ ।’
२०१९ को अर्थशास्त्रको नोबेल पुरस्कार संयुक्त रुपमा ५८ वर्षीय अभिजित बनर्जी र उनकी पत्नी फ्रान्सकी एस्थर डुफ्लो तथा अमेरिकी माइकल क्रेमरलाई दिइएको छ । ४६ वर्षीय एस्थर अर्थशास्त्रको नोबेल पुरस्कार पाउने दोस्रो महिला हुन् । यी तीनलाई यो पुरस्कार विश्वव्यापी स्तरमा गरिबी उन्मुलनका लागि उनीहरुले गरेको कार्यका लागि दिइएको हो ।
अर्थशास्त्रको नोबेल पुरस्कार पाउने अभिजित दोस्रो भारतीय हुन् । १९९८ मा अमत्र्य सेनलाई कल्याणकारी अर्थशास्त्रमा उनको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको थियो ।
कोलकातामा जन्मिएका अभिजितले १९८३ मा दिल्लीस्थित जवाहर लाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
पछि उनले हार्भड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । उनी म्यासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीको अर्थशास्त्र विभागका प्राध्यापक हुन् ।
प्रतिक्रिया