विश्वासिलो वातावरण तयार नभएकाले, संघीय सरकारमा सहभागी हुदैनौ : नेता महतो

विश्वासिलो वातावरण तयार नभएकाले, संघीय सरकारमा सहभागी हुदैनौ : नेता महतो


विरानगर – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा आज पत्रकारसंग उनले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पारे ।

अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे ।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा सेमत व्यक्त गरे ।

पत्रकारको जिज्ञासामा नेता महतोले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसद्मा कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताए ।