काठमाण्डु-एनपीएलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको चुनौती दिएको छ । एक बल बाँकी हुँदा १९.५ ओभरमा अलआउट भएको विराटनगरले ११७ रन बनाएको हो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । २१ बल खेलेका उनले एकएक चौका र छक्का हिर्काए । उनी अन्तिम ओभरमा काठमाडौंका कप्तान करण केसीको बलमा आउट भएका हुन् । अन्तिम विकेटका रुपमा सुवास भण्डारी १० बलमा ६ रन बनाएर रनआउट भए ।
विराटनगरका लागि नौ बल खेलेका लोकेश बल ८ रन बनाएर आउट भए । उनलाई पहिलो विकेटका रुपमा काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे । दोस्रो विकेटका रुपमा निकोलस किर्टन १० बलमा १२ रन बनाएर रनमा आउट भए भने तेस्रो विकेटका रुपमा दीपक बोहोरा २४ बलमा २० रन बनाएर आउट भए । चौथो विकेटको रुपमा १४ बलमा १५ रन बनाएका स्कट एडवर्ड्सलाई गेर्हार्ड इरास्मसले आउट गरे ।
पाँचौ विकेटका रुपमा बसिर अहमदलाई १३ रन बनाउँदा गुमाएको विराटनगरले छैटौं विकेटका रुपमा इस्मत आलमलाई पाँच रन बनाउँदा गुमायो । सातौं विकेटका रुपमा क्रिस सोल एक रन बनाएर आउट हुँद आठौं विकेटका रुपमा सन्दीप लामिछाने शून्यमा आउट भए ।
काठमाडौंका लागि गेर्हार्ड इरास्मसले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट हात पारे । उसका लागि कप्तान करण केसी, डेन डउथवेट र शाहब आलमले एकएक विकेट हात पारे ।
विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ । शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो ।
६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ । ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ । विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ । चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ ।
प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ । चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ ।
एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया