महोत्तरी– नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।
मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।
खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल)मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।
मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।
जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।
प्रतिक्रिया