गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको एनआरएन कम्पनीमा नेपाली लगानीकर्ताहरुको बर्चस्व

गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको एनआरएन कम्पनीमा नेपाली लगानीकर्ताहरुको बर्चस्व


काठमाण्डु-  गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको एनआर इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) कम्पनी नेपाली लगानीकर्ताले कब्जा गरेका छन् । एनआरएनले १२ वर्षअघि स्थापना गरेको उक्त कम्पनी शुक्रबारदेखि सम्पूर्ण रुपमा नेपाली लगानीकर्ताहरुले कब्जा गरेका हुन् ।

कम्पनीको शुक्रबार सम्पन्न भएको १२ औं वार्षिक साधारसभाबाट बहुमत संचालकहरु नेपाली लगानीकर्ता निर्वाचित भएका छन् भने गैरआवासीय नेपालीहरु पराजित भए । निर्वाचित हुनेमा अधिकांश दोस्रो बजारमा सक्रिय रुपमा कारोबार गर्ने लगानीकर्ता रहेका छन् । उक्त कम्पनीमा अध्यक्ष शेष घलेले बोर्डमा ल्याउन चाहेका डाइरेक्टरहरु नै पराजित भएपछि उनिहरुको हातबाट कम्पनी गएको चर्चा छ ।

शुक्रबार भएको साधारणसभाबाट संचालकमा सीताराम थपलिया, राजीवप्रसाद प्याकुरेल, दिनुका पोखरेल, विश्वराज नेपाल र तिलक कोइराला निर्वाचित भएका छन् । संचालक समितिको पहिलो बैठकले नेप्सेका पूर्व महाप्रबन्धक सीताराम थपलियालाई कम्पनीको नयां अध्यक्ष चयन गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा एनआरएन हिक्मत बहादुर थापा, विक्रम कुमार तोदी,राजिवप्रसाद प्याकुरेल,डिलाराम खरेल र कमल अर्याललगायत १० जनाले उम्मेदवारी दिएका थिए ।

कम्पनीमा एनआरएनका पूर्व अध्यक्ष शेष घले अध्यक्ष थिए । बोर्डमा कुल आचार्य,हिक्मत थापा,रमेश अर्याल,संगिता केसी,भरत कुमार थापा,रमेश पोखरेल र दिलिप कुमार मुनानकर्मी सदस्य थिए । तर, शुक्रबार भएको निर्वाचनमा अधिकांश दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरु बोर्डमा आएका छन् ।

एनआरएन कम्पनी विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकीकृत गरी नेपालका विभिन्न आयोजना लगानी गर्ने उद्देश्यले २०६९ सालमा स्थापना भएको थियो । जसमा उपेन्द्र महतो,जिवा लामिछाने, शेष घले, भवन भट्टलगायतको लगानी थियो । कम्पनीले विभिन्न जलविद्युत आयोजना, बैंक,इन्स्योरेन्स र माइक्रोफाइनान्समा लगानी रहेको छ ।