एनआरएन मलेसियाद्वारा एन्फालाई ६ लाख सहयोग

एनआरएन मलेसियाद्वारा एन्फालाई ६ लाख सहयोग


काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फूटबल संघ (एन्फा) लाई चेक हस्तान्तरण गरेको छ ।

असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुपैयाँ दिने निर्णय गरेअनुसार सहयोग गरिएको छ ।

एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फूटबलले ठूलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैं सम्झिने बताए ।

एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपैयाँ दिने निर्णय अनुसार एन्फालाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीको स्मृतिमा अक्षय कोष खडा भएको र रकम जम्मा गर्ने प्रतिबद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोदकुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिति थियो । मकवानपुरको सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो ।

घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ, साइमन योञ्जन, काठमाण्डुका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो ।